४ बैशाख २०८१, मंगलवार
Follow Us

भ्रातृसंगठनमा एकताको प्रक्रिया शुरु

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०७५, बिहीबार १५:३४

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको एकतापछि अब दुबै पार्टीका भ्रातृसंगठनको पनि एकता प्रक्रिया अगाडि बढेको छ । दुबै पार्टीबीच भएको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको हो । तत्कालीन एमाले समर्थित युवा संघ नेपाल र माओवादी केन्द्र समर्थित योङ कम्युनिष्ट लिग (वाइसिएल) बीच एकता प्रक्रिया अगाडि बढेको हो ।

ती दुई संगठनका लागि गठित एकता कार्यदलको आज बसेको बैठकले एकताको प्रारम्भिक शुरुवात गरेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । एकता कार्यदलमा युवा संघका इन्चार्ज महेन्द्र शर्मा, वाइसिएलका इन्चार्ज मणि थापा तथा युवा संघका अध्यक्ष रमेश पौडेल र वाइसिएलका अध्यक्ष सापकोटा रहनु भएको छ । कार्यदलको बैठकले संगठनको एकताका लागि विधान मस्यौदा तथा संगठन स्वरुप प्रस्ताव तयार पार्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

समितिमा युवा संघका महासचिव नरेश शाही, वाइसिएलका महासचिव सुबोधराज श्रीपाइली, युवासंघका सचिवद्वय रमेश आचार्य र वचनबहादुर सिंह तथा वाइसिएलका सचिव ज्ञानबहादुर गुरुङ रहनुभएको छ ।

युवा संघका महासचिव शाहीले कार्यदलको बैठकले यही जेठ ३० गते युवा संघको स्थायी कमिटी र वाइसिएलको केन्द्रीय सचिवालय बैठक बस्ने र यही जेठ ३१ गते सोही कमिटीको संयुक्त बैठक बस्ने निर्णय गरेको बताउनुभयो ।

अध्यक्ष सापकोटाका अनुसार समितिले यही जेठ ३१ गतेसम्म विधानको मस्यौदा र संगठन स्वरुपको प्रस्ताव तयार पारेर सो सम्बन्धी प्रतिवेदन संयुक्त बैठकमा पेश गर्ने छ । संयुक्त बैठकले समितिले तयार पारेको विधान र संगठनको प्रस्तावलाई सुझाव दिनेछ ।

समितिले दिएको प्रतिवेदनका आधारमा असारको पहिलो हप्तासम्म कार्यदलले एकताका लागि खाका तयार पारेर पार्टीको उच्च नेतृत्व तहमा दिने अध्यक्ष सापकोटाले बताउनुभयो । दुई पार्टी एकीकरण भएपछि भ्रातृसंगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने नेकपाले जनाएको छ ।