१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्रीको चीन भ्रमणमा के–के प्राथमिकतामा प-यो ?

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०७५, बिहीबार १५:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी असार ५ गतेदेखि पाँचदिने चीनको राजकीय भ्रमण गर्दैछन् । चेन्दुबाट भ्रमण सुरु गर्ने प्रधानमन्त्री ओली ल्हासा हुँदै काठमाडौं फर्कनेछन् । प्रधानमन्त्री ओलीको चीन भ्रमण पनि पुराना सहमति र सम्झौता कार्यान्वयनमै केन्द्रित हुनेछ ।

प्रधानमन्त्रीको भ्रमणकाक्रममा नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारणलाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई प्राथमिकतामा राखिएको छ । रेलमार्ग निर्माणलाई विशेष महत्व दिँदै आएका प्रधानमन्त्री ओलीले भ्रमणकाक्रममा केरुङ, काठमाडौं हुँदै लुम्बिनीसम्मको रेलमार्ग निर्माणको प्रस्ताव गर्ने तयारी सरकारको छ ।

चिनियाँ नाकानजिक सुक्खा बन्दरगाह निर्माण, पाँचखालमा सुक्खा बन्दरगाह, तातोपानीमा निर्माणाधीन बन्दरगाहको विस्तारीकरण र रसुवागढीको टिमुरे तथा कोरला जोड्ने नाकामा बन्दरगाह निर्माणजस्ता विषय छलफलका सूचीमा रहने नेकपाका नेता एवं परराष्ट्रविद् डा. राजन भट्टराईले जानकारी दिए ।

पूर्वराजदूत एवं चीन अध्ययन केन्द्रका कार्यबाहक अध्यक्ष सुन्दरनाथ भट्टराई पनि प्रधानमन्त्रीको भ्रमणमा नयाँभन्दा पुराना सम्झौता कार्यन्वयन, केरुङ–काठमाडौं–पोखरा रेलवे, असन्तुलित व्यापार, भारतसमेतको त्रिपक्षीय सम्बन्धजस्ता विषय नै प्राथमिकतामा पर्ने बताउँछन् । भारतसँग काठमाडौं–रक्सौल रेल बनाउनेबारे छलफल चलिरहँदा केरुङ–काठमाडौं रेलले भारत भएर मध्य एसिया जोडिन सघाउने उनको भनाइ छ ।

चीनसँग नेपालको सम्बन्ध परापूर्वकालदेखि नै रहेपनि दुवै देशसँग रेल सञ्जालमा जोडिँदा यसले क्षेत्रीय महत्व पाउनुका साथै नेपालले चीन अतिरिक्त दक्षिण एसियाबाट फाइदा लिनसक्ने दुवैजना बताउँछन् । पाँचखाल बन्दरगाह, तातोपानी, केरुङ रेलवे, भूकम्पले रोकिएको तातोपानी नाका तथा मुस्ताङसहितका ८ ओटा नाका खुलाउनसके आर्थिक विकासका लागि नयाँ ढोका खुल्ने उनीहरुको भनाइ छ ।