१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनएका उपाध्यक्ष पन्तद्वारा सगुनमा लगानी गर्ने घोषणा

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७५, बिहीबार १६:१२

काठमाडौं। उदाउँदो सामाजिक संजाल सगुनको पछिल्लो उपलब्धी निकै लोभलाग्दो भएको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का बरिष्ठ उपाध्यक्ष कुमार पन्तले बताएका छन् । उनले सूचना प्रविधिको क्षेत्रमा सगुनले प्राप्त गरेको उपलब्धी निकै उत्साहजनक भएको भन्दै यसमा लगानी गर्न आह्वानसमेत गरेका छन् ।

‘गैर आवासीय संघको नेतृत्वमा रहेको हैसियतमा म गैर आवासीय नेपालीहरुलाई यसमा लगानी गर्न सिफारिस गर्छु’ उनले भने । डिसीनेपालसँगको विशेष कुराकानीका क्रममा उनले आफूले पनि सगुनमा लगानी गर्न लागेको जनाए । ‘सगुन टिमसँग सुरुवाती चरणमा केही छलफल गर्दा मलाई पनि यो सफल होला त ? भन्ने लागेको थियो’ उनले भने ‘तर पछिका दिनमा उहाँहरुसँग भेट्दा उहाँहरुको आत्मविश्वास झनै बढेको पाएँ ।’ समय बित्दै जाँदा सगुनले आफूले निर्धारण गरेका लक्ष्यहरु हासिल गर्दै गएको र सगुन टिम आफ्नो गन्तव्यतर्फ झनै आत्मविश्वासका साथ अगाडि बढेको पाएपछि आफू लगानी गर्न आकर्षित भएको उनले बताए ।

विदेशमा रहेका नेपालीहरुले कमाएको धन भन्दा उनीहरुले कमाएको ज्ञान बढी महत्वपूर्ण हुने भन्दै पन्तले सगुन नेपालीहरुले आर्जेको त्यही ज्ञानको प्रतिफल भएको बताए । सगुन टिमले विकसित मुलुकमा रहेर आफूले मात्र धन नकमाइ अरुलाई समेत धन आर्जन गर्ने अवसर सृजना गरिदिएको उनले बताए । ‘सगुन लगानी गरेर कमाउन चाहनेहरुको लागि निकै राम्रो अवसर हो’ उनले भने ‘हाम्रा साथीहरुले सृजना गरेको यो अवसरको धेरै भन्दा धेरै सदुपयोग गरेर नेपालीले प्रतिफल लिन सकुन् भन्ने हाम्रो आग्रह हो ।’

सगुनमा धेरै गैर आवासीय नेपालीहरु आबद्ध भएको उल्लेख गर्दै उनले यो टिममा नआएका साथीहरुलाई पनि टिममा आउन आग्रह गरे । पछिल्लो समय सूचना प्रविधिको क्षेत्र निकै फस्टाउँदो व्यवसाय भएकोले यसमा लगानी गर्नु निकै लाभदायक हुने उनको भनाइ थियो । भारतीयहरु सूचना प्रविधिमा निकै अगाडि रहेको अवस्थामा नेपाली पनि कम छैनन् भनेर देखाउने यो सुनौलो अवसर भएको उनले बताए ।