१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मेलम्चीको इटलियन ठेकदार सरकारका लागि काउसो

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०७५, शुक्रबार ०५:१४

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकदार सिएएमसी रेभेना सरकारका लागि काउसो सावित भएको छ । तोकिएको समयमा काम पूरा गर्न आलटाल गरेर लागत मूल्य बढाउन खोजेपछि उक्त ठेकदार कम्पनी सरकारका लागि काउसो सावित भएको हो । तत्कालै बर्खास्त गर्न पनि नमिल्ने र उसले भनेअनुसारको क्षतिपूर्ति उपलब्ध गराउन सरकार अहिले बाध्य भएको छ । यो काउसो हटाउन खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले कूटनीतिक पहल गरिदिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आग्रह गर्नुभएको छ ।

मन्त्री मगरले बिहीबार परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटी इटाली सरकारसँग कूटनीतिक पहलमार्फत समस्या समाधानका लागि आग्रह गर्नुभएको हो । खानेपानी मन्त्रालय र आयोजना कार्यालयबाट बारम्बार ताकेतापछि पनि काममा तीव्रता नदिएपछि इटालीको सरकारसँग कूटनीतिक पहल गर्न अनुरोध गरिएको खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसीले जानकारी दिनुभयो ।

ठेकेदार आफैँ सहमत भएको कार्ययोजनालाई समेत पूरा गर्न नखोजेको तथा बारम्बार प्रतिबद्धता जनाउने र काम नगर्ने अवस्था आएको छ भन्दै कूटनीतिक पहल जरुरी रहेका विषयमा परराष्ट्रमन्त्री ज्ञवालीलाई जानकारी गराइएको सचिव बिसीको भनाइ छ । मन्त्री मगरले राष्ट्रिय गौरवको आयोजनामा हुने ढिलाइले नेपालका अन्य आयोजनामा समेत असर पर्ने बताउँदै इटालीे सरकारले ठेकेदार कम्पनीको मुख्यालयमा चासो राख्न लगाउनका लागि नेपाल सरकारका तर्फबाट पहल गर्न आग्रह गर्नुभयो ।

गत चैत २७ गते मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको ‘ब्रेक थ्रु’ भएपछि सार्वजनिक समारोहमा समयमा नै काम सक्ने भनी ठेकेदारको प्रतिबद्धता आएको थियो । ठेकेदार कम्पनीले आगामी भदौ १५ भित्र आयोजना सम्पन्न गर्ने र सुन्दरीजलमा पानी पथान्तरणको काम सकिने कार्ययोजना बनाएको थियो ।