१३ बैशाख २०८१, बिहीबार
Follow Us

तातोपानी नाका सञ्चालनका लागि पहल गरिने मन्त्री ज्ञवालीको भनाइ

नेपालब्रिटेन संवाददाता
२५ जेष्ठ २०७५, शुक्रबार १०:२१

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले तातोपानी नाका तत्काल सञ्चालनका लागि चीन सरकारसँग पहल गर्ने बताउनुभएको छ । ललितपुरस्थित मन्त्री निवासमा आज राष्ट्रिय व्यापार संघको टोलीले ज्ञापनपत्र बुझाउने क्रममा उहाँले भूकम्पका कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा ल्याउनेबारे चीन सरकारसँग पहल गर्ने बताउनुभएको हो ।

चीनसँगको व्यापार व्यवसाय विस्तारका लागि सहज वातावरण बनाउन सरकार गम्भीर रहेको भन्दै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणका समयमा यस विषयलाई पनि प्रमुखताका साथ उठाउनेसमेत जानकारी गराउनुभयो ।

चीन नेपालको मुख्य व्यापारिक छिमेकी राष्ट्र बन्न सक्ने भन्दै मन्त्री ज्ञवालीले नेपालका व्यवसायीलाई सहजरुपमा चीन प्रवेशको व्यवस्था मिलाउन पहल गर्नेसमेत बताउनुभयो । अहिले रसुवा जिल्लाका बासिन्दाका लागिमात्र चीनले प्रवेश पास दिँदै आएकामा अब देशैभरका व्यवसायीलाई एकदिने पासका लागि पहल गर्ने उहाँले जानकारी दिनुभयो ।

अहिले चीनसँगको नाका पुग्न केरुङको बाटो साँघुरो भएकाले यसलाई स्तरोन्नति गरी सहजरुपमा सवारी साधान सञ्चालनको व्यवस्था मिलाइने मन्त्री ज्ञवालीले बताउनुभयो ।

उहाँलाई संघका अध्यक्ष युवराज न्यौपानेको टोलीले तातोपानी नाका खोल्नका लागि कूटनीतिक पहल गर्नुपर्ने, व्यापारीलाई सहजरूपमा चीनको प्रवेशाज्ञा उपलब्ध गराउनुपर्ने , नेपालबाट सामान ढुवानी गर्न जाने देशभरका कन्टेनरका चालकलाई अनुमति दिलाउनुपर्ने , केरुङको बाटो स्तरोन्नति गरिनुपर्नेजस्ता छ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको थियो ।