८ बैशाख २०८१, शनिबार
Follow Us

अग्रवालको घरमा प्रहरीको छापा

sarusaru
२६ जेष्ठ २०७५, शनिबार ०२:२२

काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता भनिएका एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ ।

उनी प्रहरीले यो प्रकरणको अनुसन्धान थाले लगत्तै घरमा ताला लगाएर फरार भएका थिए । अग्रवाल भारतमा लुकेर बसेको आशंका गरिएको छ ।

शुक्रबार प्रकरणको अनुसन्धान गर्न गठित विशेष अनुसन्धान समितिले उनको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको स्रोतले जनाएको छ ।

घरमा भएको अन्य सुन अग्रवाल पत्नी निलमले लिएर कतै लुकेर बसेको हुन सक्ने प्रहरीको अनुमान छ । ‘सुन राख्ने खाली डिब्बा र सुन बोक्ने ज्याकेट चाहिँ फेला पारेका छाैं’, समिति स्रोतले भन्याे ।

प्रहरीले बा १० च २८२ नम्बरको गाडीसहित अन्य केही महत्वपूर्ण कागजातहरु बरामद गरेको दाबी गरेको छ ।

अग्रवालको घरबाट बरामद भएको गाडी ।
सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका अग्रवाललार्इ छानबिन समितिले उनलार्इ नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

यसअघि प्रकरणमा पक्राउ परेका राप्रपा (प्रजातन्त्रिक) का नेता भुजुङ गुरुङले गृह मन्त्रालयका सह-सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको समित समक्ष बयान दिने क्रममा ३३ किलो सुनको लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका थिए ।

‘साढे ३३ किलो सुनमा मोहन अग्रवाल ‘एमके’ले लगानी गरेका थिए’, जिल्ला अदालत मोरङमा पेश भएको अभियोग पत्रमा उल्लेख गरिएको भुजुङको बयानमा भनिएको थियो, ‘त्यसको कमिसन मैले पनि पाउँथे ।’