१५ चैत्र २०८०, बिहीबार
Follow Us

सत्तारुढ दलकै अध्यक्ष अस्थिरता निम्त्याउँदै : नेता पौडेल

नेपालब्रिटेन संवाददाता
२६ जेष्ठ २०७५, शनिबार १५:०५

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी प्रतिपक्षमा भएपनि देशमा स्थिरता, शान्ति र समृद्धि चाहेको बताउनुभएको छ । भानुभक्त अयोध्यादेवी स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्राध्यापक पीताम्बर शर्मा दाहालको ‘मेरो रिमरिमे सम्झना’ जीवनीमूलक चम्पूकाव्य कृतिको विमोचन गर्नुहुँदै उहाँले सत्तामा भएपनि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संविधान विपरीत कार्यकारी राष्ट्रपतिको विवाद निकालेर अस्थिरता निम्त्याउन खोजेको बताउनुभयो ।

“छ वर्षसम्म संविधानका अक्षर र शब्द छलफल गरेर बनाइयो, अहिले सत्तारुढ दलकै नेता यस विपरीत कुरा गरेर अस्थिरता ल्याउन खोजिरहनुभएको छ, यो प्रश्नले विवाद र अस्थिरता निम्त्याउँछ, संविधान विपरीतको कुरा काँग्रेसका लागि मान्य हुँदैन”–उहाँले भन्नुभयो ।

सत्तारुढ दलले दुई तिहाईको गठबन्धन बनाउन खोज्नु र कार्यकारी राष्ट्रपतिको विषय उठाउनु वनमा बाघ कराउनु र खोरबाट बाख्रा हराउनु जस्तै भएको नेता पौडेलको भनाई थियो । लोकतन्त्र अझै सुनिश्चित नभएकाले सजग रहन पनि उहाँले सचेत नागरिकलाई आह्वान गर्नुभयो ।

काँग्रेस नेता अर्जुननरसिंह केसीले सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि बजेटको ११ प्रतिशत राखेर शक्तिशाली बनाउन खोज्दा शंका उपशंका उब्जिएको बताउनुभयो । शक्तिशाली सरकारी निकाय पनि प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्न खोजी सरकार अधिनायकवादतर्फ जान लागेको उहाँको विचार थियो ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले विदेश मामिला र समृद्धिका लागि सत्तापक्ष एवम् प्रतिपक्षका बीच एकमत हुनुपर्ने विचार राख्नुभयो । शक्तिशाली नभई जनताप्रति उत्तरदायी शासकको आशामा नेपाली जनता रहेको उहाँले सुनाउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री अच्युतराज रेग्मी, प्रा डा मोहनप्रसाद तिमल्सिना, प्रा प्रयागराज भट्टराई, वरिष्ठ अधिवक्ता एवम् नेपाल विद्यार्थी संघका संस्थापक देवेन्द्र नेपाली, चलचित्र निर्देशक यादव खरेल, प्रा डा धनप्रसाद पण्डित लगायतले लेखक दाहालले पुस्तकमा इमान्दारीपूर्वक जीवनका घटना उतारेको बताउनुभयो ।

गद्य र पद्यमा समेत रचना गरिएको पुस्तकमा ६०१ पृष्ठ छ । मूल्य रु ९०० रहेको पुस्तकको सम्पादन उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले गर्नुभएको हो । पुस्तकको प्रकाशन सुमनराज ढुंगेल तथा प्रियंगुरानी ढुंगेल दाहालले गर्नुभएको हो । जीवनमा भएका उत्तराद्र्धमा सम्झिएका घटनालाई पुस्तकमा समावेश गरिएको लेखक दाहालले सुनाउनुभयो ।

सो अवसरमा प्रतिष्ठानले स्थापना गरेको भानुभक्त अयोध्यादेवी स्मृति पुरस्कारबाट गायिका उमा गुरुङ र साहित्यकार डिल्लीप्रसाद दाहाल ‘मूलतिहुन’ लाई सम्मान गरियो ।