६ बैशाख २०८१, बिहीबार
Follow Us

५० पटकभन्दा बढी रक्तदान गर्नेलाई उपचारमा ५० प्रतिशत छुट (भिडियो)

नेपालब्रिटेन संवाददाता
२६ जेष्ठ २०७५, शनिबार १५:५३

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले सातवटै प्रदेशमा घर–घरबाट रगत संकलन गर्न राज्यले ध्यान दिने बताउनुभयो । मन्त्री अर्यालले उक्त कुरा रक्तदाता र रगत लिनेबीच शनिबार आयोजित कार्यक्रममा बताउनुभएको हो । उहाँले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै जाने बताउनुभयो । कर्मचारीको संकुचित मानसिकताले गर्दा स्वास्थ्य क्षेत्रमा बेथिति बढेको उहाँले बताउनुभयो ।

मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले ५० पटकभन्दा बढी रक्तदातालाई मेडिसिटी अस्पतालले उपचारमा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभयो । उहाँले भन्नुभयो, ५० पटकभन्दा बढी रक्तदान गरेको प्रमाण ल्याउने जोकोहीलाई मेडिसिटी अस्पतालले उपचारमा ५० प्रतिशत छुट दिनेछ । त्यसैगरी डा. महतोले ५० पटकभन्दा बढी रक्तदान गर्नेको परिवारलाई १० प्रतिशतसम्म छुट दिने डा. महतोले घोषणा गर्नुभयो । मेडिसिटी अस्पतालसँग दक्षिण एसियाकै उत्कृष्ट ब्लड बैंक रहेको जानकारी पनि डा. महतोले दिनुभयो । रक्त संकलनका लागि बन्ने कुनै पनि योजनामा जति लागत लाग्छ, त्यसको दुई गुणा रकम आफूले सहयोग दिने अध्यक्ष डा. महतोले घोषणा गर्नुभयो ।

मिडिसिटी नाफामूलक अस्पताल मात्र नभएर स्वास्थ्य उपचार पाउने नेपालीको नैसंर्गिक अधिकारलाई स्थापित गर्ने अभियान भएको डा. महतोले बताउनुभयो । स्वास्थ्य क्षेत्रका हरेक गतिविधिमा निजी क्षेत्रलाई सक्रिय गराउनुपर्ने उहाँको धारणा थियो ।

अन्तरक्र्रिया कार्यक्रममा १ सय ६३ पटक रक्तदान गरेका अर्जुनप्रसाद मैनालीले आफ्नो अनुभव सुनाउनु भएको थिए । अमेरिकामा बसोबास गर्नु हुने मैनालीले रक्तदानलाई अभियानको रुपमा विश्वका अन्य २२ राष्ट्रमा सञ्चालन गरेको सुनाउनु भयो । आफ्नो रगतले अरुको ज्यान बचाउन पाउँदा आफूलाई खुशी लाग्ने उहाँले बताउनुभयो ।

रगत संकलन र वितरणमा गैरआवासीय नेपाली संघ (एनआरएन) ले चासो देखाएको कार्यक्रममा बताइयो । रगत संकलन र हस्तान्तरणमा विश्वमा कस्ता प्रविधि भित्रिएका छन्, त्यसलाई नेपालमा कसरी प्रयोगमा ल्याउन सकिन्छ भनेर एनआरएनले चासो देखाइरहेको कार्यक्रममा बताइयो । एनआरएनले स्वास्थ्यसम्बन्धी तयार पारेको न्यूज लेटर कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा रक्तदानको बेथितीबारे रक्तदाताले खुलेर आलोचना गरेका थिए ।