७ बैशाख २०८१, शुक्रबार
Follow Us

राजपा पनि सरकारमा जान इच्छुक : संयोजक ठाकुर

नेपालब्रिटेन संवाददाता
२७ जेष्ठ २०७५, आईतवार ११:३१

महेन्द्रनगर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताउनुभएको छ । उहाँले सरकारमै जान पार्टी बनेको भन्नुहुँदै यद्यपि आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताउनुभयो ।

राजनीतिक समितिको बैठक टारेर जनकपुर आउनुभएका संयोजक ठाकुरले विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भन्नुभयो, “हरेक पार्टीको ध्येय सरकारमा पुग्ने हो । र, पार्टी गठन पनि त्यही उद्देश्यका साथ भएको हुन्छ ।” उहाँले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन संविधान संशोधन हुनुपर्ने अडान चाहिँ परिवर्तन नभएको बताउनुभयो ।

संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भइसकेको अवस्थामा राजपाको भूमिकाबारे सञ्चारकर्मीहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले केही दिनअघि एक्लै तथा सामूहिक भेटघाटमा सरकारमा सहभागी हुन आग्रह गरेको जनाउनुभयो ।

उहाँले आफूले संविधान संशोधनको ग्यारेन्टी नभएसम्म सरकारमा सहभागी हुन नसकिने जवाफ फर्काएको र त्यसपछि प्रधानमन्त्रीले आफूहरूसँग सरकारमा सहभागीताबारे कुनै छलफल नगरेको बताउनुभयो ।

नेकपा नेतृत्वको सरकारमा सहभागी भएपछि मधेशमा संघीय समाजवादी फोरम नेपालको आलोचना भइरहेका बेला ठाकुरले आफूलाई त्यस विषयमा कुनै जानकारी नरहेको र यस्तो कुरा पहिलोपटक सुनेको प्रतिक्रिया दिनुभयो ।

फोरम नेपाल सरकारमा सहभागी भए पनि प्रदेश नं २ को सरकारलाई आफ्नो पार्टीको समर्थन रहिरहने ठाकुरले स्पष्ट पार्नुभयो । ठाकुरले हिरासतमा रहेका आफ्ना पार्टीका सांसद रेशम चौधरीलाई प्रमाणपत्र दिई संसद्मा बस्ने वातावरण निर्माण गर्नसमेत सरकारसँग माग गर्नुभयो ।