६ चैत्र २०८०, मंगलवार
Follow Us

‘विज्ञ सम्मेलनको लक्ष्य नेपालमा ज्ञान सिप र प्रविधि भित्र्याउने हो’

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७५, सोमबार ००:१४

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी १२ र १३ अक्टोवरमा दुई दिने विज्ञ सम्मेलन र विधानसभाको आयोजना हुँदैछ । त्यसै सन्दर्भमा सम्मेलन संयोजक डा. हेमराज शर्मासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

विज्ञ सम्मेलन गर्दै हुनुहुन्छ, सम्मेलन कहिले र किन गर्न लाग्नुभएको हो ?
गैरआवासीय नेपाली संघले आगामी अक्टोबरमा गर्नेगरी विज्ञ सम्मेलनको तयारी एवं गृहकार्य गरिरहेको छ । अहिलेसम्म गैरआवासीय नेपाली संघको पहलमा नेपालमा पूँजी एवं लगानी भित्र्याउन केही सफलता हासिल भएपनि विदेशमा रहेका नेपालीहरुको ज्ञान सीपलाई नेपालको विकास एवं समृध्दिका लागि प्रयोगमा ल्याउन खासै सफलता हासिल गर्न नसकिएको अवस्थामा विदेशमा बस्ने नेपालीहरुको ज्ञान सीपको प्रयोगका लागि पहल गर्नका लागि भनेर संस्थागत रुपमा सम्मेलन गर्न लागेका हौँ ।

सम्मेलनको उदेश्य के हो ?

सम्मेलनमार्फत विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरु र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरुसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थालाई जोड्नु यसको उद्देश्य हो । यतिमात्रै नभई नेपालमा गैरआवासीय नेपालीहरुले उनीहरुसँग भएको ज्ञान, सीप, पूँजी र प्रविधि नेपालको हितमा लगानी गर्ने सेतुको रुपमा सम्मेलनलाई विकास गर्ने पनि हाम्रा लक्ष्य हो ।
सम्मेलनका लागि के कस्तो तयारी भइरहेको छ ?
सम्मेलनको तयारीका लागि अमेरिकामा आगामी जुनमा, युरोपको लग्जेम्वर्ग जुलाईमा, एशियाको थाईल्याण्ड लगायतका अन्य क्षेत्रहरुमा तयारी सम्मेलनहरुको आयोजना गर्न लागेका छौँ । साथै आन्तरिक तयारी, डायस्पोराका विज्ञहरुसँग छलफल गरी समय लिने काम भइरहेको छ, भने विदेशबाट ल्याउने विज्ञ छनोट, सम्मेलनमा छलफल गर्ने विषयबस्तुलाई अन्तिम रुप दिने काम पनि भइरहेको छ । समग्रमा हामी अहिले आन्तरिक तयारी र गृहकार्यमा जुटेका छौँ ।

सम्मेलनमा कुन –कुन क्षेत्र समेटिने छन् ?
सम्मेलनमा नेपालको शिक्षा, स्वास्थ्य, जलविद्युत, पूर्वाधार तथा सहरी विकास, कृषि तथा खाद्यसुरक्षा लगायतका विभिन्न विधामा नीतिगत तथा विषयगत रुपमा छलफल गरिने छ । नेपालभित्रका विज्ञ, डायस्पोरा र बाहिरका विज्ञहरु समेत राखेर यहाँका विशेष क्षेत्रमा रहेका अवसर, गुड गभर्नेन्स, समस्या, चुनौती लगायतका विषयमा घनीभूत रुपमा छलफल र ज्ञान आदानप्रदान गर्ने वातावरण निर्माण गर्न हामीले पहल गरेका हौँ ।

सरकारसँगको सहकार्य कस्तो छ ?
हामीले जानकारी गराएका छौँ र सरकार र एनआरएनएकै सहकार्यमा यो सम्मेलन आयोजना हुदै छ ।

सम्मेलनमा कतिजतिको सहभागिता रहनेछ ?
अहिलेसम्म हामीले झण्डै ३ सय भन्दा बढी प्रतिनिधीलाई सम्मेलनमा सहभागी गराउने तयारी गरेका छौं।

विधानसभा पनि गर्दै हुनुहुन्छ ? त्यसको आवश्यकता किन पर्‍यो ?
गैरआवासीय नेपाली संघको संरचनामा समय–सापेक्ष सुधार गर्न, निर्वाचनलाई व्यवस्थित बनाउन तथा संघको कार्य–प्रणालीलाई अझ चुस्त बनाउन विधानमा व्यापक संशोधन गर्नुपर्ने आवश्यकता महसुस भएकाले विधानसभा समेत आयोजना गर्ने भनेका हौँ । सो विधानसभामा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवं सदस्य तथा राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि एवं संघका संरक्षक, सल्लाहाकार तथा मानार्थ सदस्यहरुले भाग लिनेछन् ।