६ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकामा हुने एनआरएनए विज्ञ सम्मेलनको तयारी पूरा

sarusaru
२९ जेष्ठ २०७५, मंगलवार ०९:०७

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अायाेजनामा जुन १६ देखि १७ सम्म अमेरिकाको सान फ्रान्सिस्कोमा हुने विज्ञ सम्मेलनको तयारी पूरा भएको छ।

गैरअावासीय नेपालीको ज्ञान सीपलाई नेपालको विकास एवं समृध्दिका लागि प्रयोगमा ल्याउन अपेक्षित सफलता हासिल गर्न नसकिरहेको सन्दर्भमा यो सम्मेलन गर्न लागिएको हो। विदेशमा बस्ने नेपालीहरुको ज्ञान सीप राष्ट्रहितका लागि प्रयोग गर्ने क्षेत्र र विधिको पहिचान विज्ञ सम्मेलन गर्न लागिएकाे अायाेजककाे दाबी छ।

अमेरिकामा हुने सम्मेलन आगामी अक्टोबरमा नेपालमा गर्न लागिएकाे विज्ञ सम्मेलनकै तयारी भएकाे संघ प्रवक्ता भूषण घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

अमेरिकामा हुने विज्ञ सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र अधिकारी प्रमुख अतिथि हुनेछन्। पूर्व अर्थ तथा परराष्ट्र मन्त्री डा। प्रकाश चन्द्र लोहनी तथा पूर्व पर्यटन राज्यमन्त्री रेवतीप्रसाद भूसाल विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।

सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा. हेमराज शर्मा आईसीसीका अन्य पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुको उपस्थिति रहनेछ। सम्मेलनमा पूर्व अध्यक्ष शेष घलेकाे सहभागिता रहने छैन।

अमेरिकास्थित नेपाल सरकारका राजदूत, अवैतनिक तथा वाणिज्यदूतहरु र अमेरिका क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौध्दिक व्यक्तित्वहरूसहित करिब ५ सय जनाको सहभागिता रहने अपेक्षा छ।

अमेरिका क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरू सहभागी गराएर पहिलो पटक आयोजना गर्न लागेको यो सम्मेलनमा विभिन्न मुलकमा कार्यरत नेपाली वैज्ञानिक, प्राविधिक, समाजसेवी, अनुसन्धानकर्ता, प्राध्यापक, विद्यार्थी, व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू सहभागी भएर नेपालको विकासका सम्भावना र चुनौतीबारे छलफल गर्ने तयारी गरिएको छ।

गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीको संयोजकत्वमा हुन गैरहेको सम्मेलनमा डा रुद्र अर्यालले अमेरिका क्षेत्रका विज्ञहरुसँग संयोजन गरिरहेका छन्। सम्मेलनमा एनआरएनए अमेरिकाका अध्यक्ष डा केशव पौडेल विशेष भूमिका रहेको छ।

सम्मेलनमा विशेषतः स्वास्थ्य, शिक्षा, पर्यटन पूर्वाधार तथा सहरी विकास, कृषि तथा खाद्य सुरक्षा, श्रम तथा वैदेशिक रोजगार, लगानी, वातावरण तथा उर्जा, विज्ञान तथा प्रविधि, सुशासन लगायतका विषयलाई नीतिगत तथा विषयगत रुपमा प्रस्तुत गर्दै बृहत छलफल हुनेछ। त्यसपछि तयार हुने सान्फ्रान्सिस्को घोषणा पत्रका बुँदाहरुलाई नेपालको नीतिगत तहमा कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित हुने संघले जनाएको छ।

सम्मेलनले राष्ट्र निर्माणमा साझेदार बन्नका लागि एक महत्वपूर्ण सेतुको रुपमा भूमिका निर्वाह गर्दै मुलुकमा आर्थिक लगानीसँगै बौध्दिक लगानीको बाटो खोल्ने विश्वास संघको छ।