११ बैशाख २०८१, मंगलवार
Follow Us

संसदीय दलको नेता छान्न राजपामा सकस

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७५, मंगलवार १५:५४

काठमाडौं । आन्तरिक विवादमा रुमलिँदा प्रतिनिधिसभाको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी नेपालले संसदीय दलको नेता छनोट गर्न सकेको छैन । गुटगत स्वार्थको प्रभावमा आकांक्षीको संख्यासमेत थपिँदा निर्वाचन भएको ६ महिना बित्दा पनि राजपा नेपालले संसदीय दलको नेता छान्ने नसकेको हो ।

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा संसदीय दलको नेता छान्न नसकेको संसदको तेस्रो ठूलो दल राजपा अहिले पनि संसदमा नेताविहीन छ । राजपाबाट प्रतिनिधित्व गर्ने १७ सांसद सदनमा बलशाली उपस्थितिका लागि नेतृत्व खोजिरहेका छन् । तर, अध्यक्ष मण्डलभित्रको विवादका कारण राजपाले संसदीय दलको नेता छनोट गर्न सकेको छैन ।

अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो आफैं आकांक्षी हुनुले पनि नेता छनोट पेचिलो बनेको हो । अध्यक्षमण्डलका अर्का सदस्य महेन्द्र राय यादव पनि आकांक्षीको सूचीमा छन् । पार्टीको विधान नबन्नु र नेताहरु आ–आफ्नै अस्तित्व रक्षामा तल्लिन हुँदा नेता चयनमा ढिलाई भएको राजपाका नेता नै स्वीकार्छन् ।

तत्कालिन आन्दोलन चर्काउनु पर्ने बाध्यताले मधेस केन्द्रित ६ वटा दल एकीकृत भएर बनेको राजपामा अहिले पनि अलग–अलग दलीय अभ्यास र आचरण छ । सिद्धान्त र संगठनभन्दा नेता नै पिच्छेको स्वार्थ, महन्थ ठाकुरबाहेक समकालिन नेतृत्व र तिबीच एक–अर्कालाई नेता स्वीकार्न गाह्रो पर्ने प्रबृतिले पनि संसदीय दलको नेता चयनमा सहमति जुट्न नुसकेको मधेस मामिलाका जानकारको बुझाइ छ ।

संसदीय गतिविधिमा प्रभावकारी भूमिका, सांसदहरुलाई नियन्त्रण र निर्देशन तथा अन्य दलसँग हार्दिक सम्बन्ध निर्धारणमा अहम् भूमिका खेल्ने नेता नै नहुँदा राजपाले सदनमा कांग्रेसका मुद्दा समात्नु बाहेक खास भूमिका देखाउन सकेको छैन् । सदनमा पार्टीको अडान नदेखिनु र सरकारका गतिविधिमा टिप्पणी विहीन हुनुले पनि सदनमा तेस्रो दलको भूमिका थप निम्छरो बन्दै गएको स्पष्ट हुन्छ ।