१५ चैत्र २०८०, बिहीबार
Follow Us

टेलिभिजनको चार्म घटेको होइन

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०७५, बुधबार १३:२९

संगीता पन्त थापा, वरिष्ठ कार्यक्रम निर्माता, नेपाल टेलिभिजन
एनटिभी प्लसमा विविध शाखा प्रमुख संगीता पन्त थापा वरिष्ठ कार्यक्रम निर्माता हुन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने जेष्ठ नागरिक, महिला, युवा र कृषिलगायत दर्जनौं कार्यक्रम सञ्चालन गरिसकेकी संगीताले युवा पत्रकारिता पुरस्कार, संकल्प वरिष्ठ पत्रकारिता पुरस्कार, जनजागरण पत्रकारितालगायत थुप्रै पुरस्कार प्राप्त गरिसकेकी छन् । क्रियाशील महिला पत्रकार समूहमा आबद्ध संगीतलाई नेपाल टेलिभिजनले कदरपत्र दिएको छ । उनले प्रस्तुत गरेका कार्यक्रम पे्ररणादायी हुन्छन् । टेलिभिजनमा उनको प्रवेश, कामको अनुभव र घरपरिवारसम्बन्धी गरिएको कुराकानी :

० कति भो नेपाल टेलिभिजनमा संलग्न हुनुभएको ?
– २०५३ देखि निरन्तर छु, यसअवधिमा बाल, महिला, जेष्ठ नागरिक, कृषि, युवालगायत झन्डै दर्जन कार्यक्रम सञ्चालन गरिसकेकी छु । अहिले वरिष्ठ कार्यक्रम निर्माता हुँ, एनटिभी प्लसको विविध शाखा प्रमुख हुँ ।

० अहिले कुन कार्यक्रम प्रसारण हुँदैछ ?
– एनटिभी प्लसबाट कृषि र युवा लक्षित कार्यक्रम सञ्चालन भइरहेको छ । नार्कले प्रायोजन गरेको कृषि कार्यक्रम र युवालाई सिर्जनशील र पे्ररणा पुग्ने कार्यक्रम सञ्चालन भइरहेको छ ।

० आफ्नो रुचिको कार्यक्रम सञ्चालन गर्न पाइँदैन ?
– आवश्यकता हेरेर कार्यक्रम बनाइन्छ । सरकारी टेलिभिजन हो, संयम र स्रोताका लागि उपलब्धिमूलक बन्ने कार्यक्रम सञ्चालन गर्ने नीति टेलिभिजनको हुन्छ ।

० कार्यक्रम प्रभावकारी हुन्छ ?
– हुन्छ, टेलिभिजनबाट प्रसारण भइसकेपछि आउने प्रतिक्रियाबाट त्यो स्पष्ट हुन्छ । साथीभाइबाट आउने फोन, सामाजिक सञ्जालमा साथी बन्ने अनुरोधले पनि कार्यक्रमको प्रभावकारितालाई स्पष्ट पार्छ ।

० कार्यक्रम निर्माण आफूले चाहेअनुसार बनाउन सकिन्छ ?
– सरकारी टेलिभिजन भएकाले निश्चित मापदण्ड हुन्छ, संस्थाको फ्रेमभित्र रहेर कार्यक्रम तयार गर्नुपर्छ ।

० नेपाल टेलिभिजनको क्रेज घटेको हो ?
– नेपाल टेलिभिजनको क्रेज घटेको छैन, अझ बढेको छ भन्ने मलाई लाग्छ । निजी क्षेत्रका टेलिभिजन पनि प्रशस्त छन्, तर विश्वसनीयताका लागि नेपाल टेलिभिजन नै हेर्न आमदर्शकले रुचाएको हामीले पाएका छौं । अहिलेको उच्चतम प्रविधिले आफूलाई अनुकूल भएको समयमा जुनसुकै कार्यक्रम हेर्न सकिन्छ, त्यो बेग्लै कुरो हो ।

० टेलिभिजनसँग कसरी आबद्ध हुनुभयो ?
– स्नातकको अध्ययन सकेकी थिएँ, नेपाल टेलिभिजनमा तालिम खुल्यो । मैले पनि आवेदन दिएँ । दुई महिने तालिम सकिएपछि इन्द्रधनुष कार्यक्रम सञ्चालन गरें । ५–६ महिना स्वयंसेवा गरेपछि त्यहीँको जागिरे हुन पुगें ।

० टेलिभिजनप्रति आकर्षण चाहिँ कसरी भयो ?
– बुवा टेलिजिभनमै हुनुहुन्थ्यो । तर, उहाँ प्रशासनमा हुनुहुन्थ्यो । अहिलेजस्तो सामाजिक सञ्जाल त्यो बेला थिएन । त्यसबेला टेलिभिजनको चार्म बेग्लै थियो । तालिम लिइसकेपछि कार्यक्रम सञ्चालन गर्न सक्ने आत्मविश्वास बढ्यो ।

० टेलिभिजनको चार्म अझै छ ?
– छ, घटेको छैन, अझ जिम्मेवारी बढेको छ । सामाजिक सञ्जालले गर्दा टेलिभिजनको क्रेज घटेको हो कि जस्तो महसुस हुन्छ, तर त्यस्तो होइन ।

० आफूले सञ्चालन गरेको सम्झना आइरहने कार्यक्रम ?
– जेष्ठ नागरिकबारे सञ्चालन गरेको कार्यक्रमको सम्झना आइरहन्छ । जेष्ठ नागरिकको अनुभव उहाँहरूको अनुभूति, जीवनयात्रामा आइपरेका समस्या म मात्र होइन, धेरैका लागि प्रेरणाको स्रोत हुन्थ्यो ।

० उहाँहरूसँग बिर्सन नसकेको क्षण पनि छ ?
– जीवनयात्रा कार्यक्रम सञ्चालन गर्दा एकजना आमाले आफ्ना कुरा भन्दाभन्दै रुन थाल्नुभयो । विगत कोट्याएर मैले उहाँलाई थप दुःखी बनाएजस्तो लाग्यो । ती आमाको नाम म अहिले पनि सम्झन्छु । यद्यपि त्यो कार्यक्रमले धेरैलाई सचेत बनायो भन्ने ठान्छु ।

० महिलासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुभएन ?
– गरें, घरसंसारमार्फत झन्डै ७–८ वर्ष कार्यक्रम सञ्चालन गरें । महिलाको वृत्ति विकासमा सहयोग पुग्ने, पे्ररणादायी महिलाको सफलताको कथालगायत प्याकेजमा कार्यक्रम सञ्चालन गर्थें ।

० सधैं सफलता मात्रै ?
– सफलतासँगै असफलता पनि जोडिएर आउँथ्यो, त्यसलाई केलाउनुपर्छ ।

० तपाईं पनि सफल ?
– सफलता र असफलताको संघारमा पुगिसकेकी छैन । सिक्न अझै धेरै बाँकी छ । सफलता र सकारात्मक सोचले अझ मेहनत गर्न सिकाउँछ ।

० युवाहरू लक्षित कार्यक्रममा के छ ?
– योङ एचिभर्स युवा लक्षित कार्यक्रम हो । यसमा युवाहरूको सफलता र संघर्षका कथाहरू प्रस्तुत हुन्छन् । जस्तो, नेपालमै सम्भव छ भन्नु हुने रोहित भण्डारी जस्ता युवालाई स्थान दिन्छौं ।

० काठमाडौंकै रैथाने ?
– हो, मेरो बसोबास काठमाडौंमै हो । तालिम र अध्ययनका लागि अमेरिका, जापान, मलेसियालगायत देश पुगेकी छु ।

० अध्ययन ?
– स्नातकसम्म व्यवस्थापन विषय र आमसञ्चारमा स्नातकोत्तर गरेंकी हुँ ।

० डिग्री चाहिँ किन आमसञ्चारमा ?
– इन्ट्रेस लागेको विषय प-यो ।

० घरपरिवार ?
– श्रीमान्, एक छोरा, एक छोरीसहित ससुरा हुनुहुन्छ । मोर्डन परिवार हो । ससुराले फोर्ड मोटर्स कम्पनीबाट अवकाश पाएको धेरै भएको छैन ।

० श्रीमान् चाहिँ ?
– पेप्सीमा बजार व्यवस्थापक हुनुहुन्छ ।

० पे्रम विवाह गर्नुभएको ?
– पहिले विवाह, त्यसपछि पे्रम । इन्गेजमेन्ट भएको ६ महिनापछि हाम्रो विवाह भएको हो ।

० किन ६ महिनापछि विवाह ?
– एकअर्कामा बुझ्न त्यो समय छुटाइएको थियो ।

० अवकाशपछिको जीवन ?
– लेखनमा जुट्छु होला ।