१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विश्वकप फुटबल आजदेखि सुरु हुँदै

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७५, बिहीबार ०५:२७

काठमाडौं । विश्वकप फुटबल आजबाट सुरु सकिँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुजानकी रंगशालामा विधिवत रुपमा सुरु हुनेछ ।

रुसमा पहिलो पटक हुन लागेको यो विश्वकपमा पनि विगतमा झैं विश्वका उत्कृष्ट ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेताहरु फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि मस्कोको लुझनिकी रंगशालाबाटै बिदा लिनेछ ।

फिफाको बहुचर्चित भ्रष्टाचार काण्ड, अमेरिका तथा युरोपियन युनियनसँग रुसको खराव सम्बन्ध, डोपिङ प्रकरणलगायतका विवादका बीच समयमै उत्कृष्ट तयारी गरेको रुसले उदघाटन समारोह विगतको तुलनामा फरक ढंगले गर्ने भएको छ ।
विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुजानकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नु हुनेछ । ठूलो सांगीतिक कन्सर्टका रुपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् । दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्व स्टार रोनाल्डो उदघाटन समारोहका अर्का मुख्य आकर्षण हुने छन् ।

यसपाली उदघाटन समारोह धेरै हदसम्म सांगीतिक प्रस्तुतीहरुमा केन्द्रित हुने बताइएको छ । स्थानीय समयअनुसार खेल साँझको ६ बजे सुरु हुनभन्दा आधा घन्टाअघिसम्म पनि सांगीतिक कार्यक्रम चल्नेछ ।

विगतका उदघाटन समारोहजस्तै आयोजक देशको सभ्यता र संस्कृति देखाउने पक्षमा भने यसपाली पनि समानता हुनेछ । जहाँ रुसकी प्रख्यात गायिका गारिफुलिनाको प्रदर्शन हुनेछ । उदघाटन समारोहमा ५ सय डान्सर, जिम्न्यास्ट र कलाकारहरुका प्रस्तुती समावेश हुने बताइएको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देश विश्वकप आयोजनाका लागि पूरा तयार भइसकेको घोषणा गरेका छन् । विभिन्न ११ सहरका १२ रंगशालाले विश्वकपका ६४ खेल आयोजना गर्नेछन् ।

प्रतियोगिताभर ३५ लाखभन्दा बढीले रंगशालामै गएर खेल हेर्ने अनुमान गरिएको छ भने विश्वभर एक अर्बभन्दा बढीले टेलिभिजनबाट दैनिक विश्वकप हेर्ने फिफाको अपेक्षा छ । विश्वकपकै लागि १० लाखभन्दा बढि विदेशी पर्यटकले रुसको भ्रमण गर्ने अपेक्षा गरिएको छ । तर, रुसी समर्थकको हुल्याहा व्यवहार आयोजकको लागि टाउको दुखाई बन्न सक्छ । विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपका लागि रुसका सबै १२ रंगशालासाथै पूरा देश पूर्ण रुपमा तयार भइसकेको बताउँदै यसले विश्वलाई नयाँ सन्देश दिने बताउनु भयो ।

उहाँले फुटबलले सम्पूर्ण विश्वलाई एकताको सूत्रमा गाँस्ने बताउनु भएको छ ।