१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विश्वकप फुटबल पनि हेरिने, रक्तसञ्चार भवनलाई सहयोग पनि हुने

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७५, बिहीबार ०५:५१

बर्दिवास । महोत्तरी जिल्लाका होटल व्यवसायीले विश्वकप फुटबलको अवसरलाई मानवीय सेवामा लगाउने भएका छन् । महोत्तरी होटल व्यवसायी संघ, बर्दिवासले विश्वकप फुटबलको अवसरलाई बर्दिवास–३ गौरीडाँडामा निर्माणाधीन रक्त सञ्चार केन्द्र भवनको सहयोगार्थ उपयोग गर्न लागेको हो ।

आज साँझ रुसको राजधानी मस्कोमा शुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण देखाएर होटल व्यवसायीले रक्त सञ्चार केन्द्रको निर्माणाधीन भवनलाई सहयोग पु-याउन लागेका हुन् । विश्वकप फुटबलको अवधिभर लाइभ देखाउँदा प्राप्त हुने रकम रक्त सञ्चार केन्द्र भवन निर्माणमा सहयोग गरिने महोत्तरी होटल व्यवसायी संघ बर्दिवासका महासचिव रेवन्त कार्की सुदीपले जानकारी दिनुभयो ।

“रक्त सञ्चार केन्द्रको भवन रकम अभावले पूर्ण हुन सकेको छैन” महासचिव कार्कीले भन्नुभयो, “अहिले विश्वकप फुटबल हेर्न लालायित ठूलै जमात यहाँ देखियो, हामीले यो अवसरलाई रक्त सञ्चार केन्द्रको भवन निर्माणसँग जोड्न चाह्यौँ ।”

बिहीबार साँझ शुरु हुने विश्वकप फुटबलको लाइभ बर्दिवास सेवा समितिको सभा भवनमा प्रोजेक्टरको सहयोगमा होटल व्यवसायीले दर्शकलाई देखाउन लागेका हुन् । यो लाइभ हेर्न चाहनेले रु २०० को सहयोग रसिद लिनुपर्ने संघले निर्णय गरेको छ । आज बिहानसम्म २०० टिकट गइसकेको महासचिव कार्कीले जानकारी दिनुभयो ।

“बर्दिवास सेवा समितिको सभाभवन ६०० दर्शक अट्ने क्षमताको छ” महासचिव कार्कीले भन्नुभयो, “अहिलेसम्मको सम्पर्कले दर्शकको संख्या यस्तै हाराहारीको हुने ठानेका छौँ ।” विश्वकप फुटबलको उत्सवसँगै जोडेर रक्त सञ्चार केन्द्रको भवन निर्माणमा रु एक लाख सहयोग गर्न सकिने होटल व्यवसायीले अपेक्षा राखेका छन् ।

होटल व्यवसायीले विश्वकप फुटबलको उत्सवलाई रक्त सञ्चार केन्द्रको भवन निर्माणसँग जोडेपछि बर्दिवास नगर क्षेत्रका टोल सुधार समितिमा आबद्ध युवा पनि सहयोग जुटाउन लागी परेका छन् । “होटल व्यवसायीले राम्रो सोच ल्याए, हामी पनि सहयोगमा जुटेका छौँ” बर्दिवास युवा टोल सुधार समितिका अध्यक्ष फणीन्द्र भट्टराई ‘बिजु’ले भन्नुभयो ।

रचनात्मक कामको सहयोगमा होटल व्यवसायीसँगै स्थानीय युवा पनि सक्रिय भएपछि योबारे सकारात्मक चासो बढेको छ । विश्वकप फुटबलको लाइभ इलाका प्रहरी कार्यालय, बर्दिवास, एकीकृत सेवा केन्द्र बर्दिवास र बर्दिवास उद्योग वाणिज्य संघसँग समन्वय गरेर सुरक्षा प्रबन्ध मिलाइएको महोत्तरी होटल व्यवसायी संघ बर्दिवासले जनाएको छ ।
गोपालप्रसाद बराल