१३ बैशाख २०८१, बिहीबार
Follow Us

एआईजीसँग आईजीको बोलचाल बन्द

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७३, मंगलवार ०६:१९

काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र प्रहरीभित्रकै शक्तिशाली मानिने प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारीबीच औपचारिक बोलचाल बन्द भएको आठ महिना बितेको छ । भण्डारीलाई सुरक्षा परिषद्मा लगेर ‘डम्प’ गरेपछि उनीहरूबीच खासै भेटघाट भएको छैन । त्यहीबेलादेखि बोलचाल बन्द भएको प्रहरी अधिकृतहरू बताउँछन् ।
तत्कालीन सरकारले आईजीपीको पद रिक्त हुनु दुई साताअघि अर्याललाई एआईजीमा बढुवा गरेको थियो । र, ०७० मंसिरको पहिलो साता उनी आईजीपी नियुक्त भएका थिए । त्यसबेलादेखि नै भण्डारी असन्तुष्ट बन्दै आएका थिए । आईजीपीकै दाबेदार रहेका बेला सरकारले अर्याललाई मात्रै एआईजी बनाएपछि भण्डारीले आफूलाई आईजीपी बन्नबाट वञ्चित गराएको बताउँदै आएका छन् ।
महानिरीक्षक अर्यालप्रति असन्तुष्टि जनाउँदै गएपछि प्रहरी नेतृत्वले उनलाई खुसी पार्न महानगरीय प्रहरी आयुक्त कार्यालयको प्रमुख बनाउने प्रस्तावसमेत गरेको थियो । तर भण्डारीले त्यसलाई ठाडै अस्वीकार गरे र प्रशासन विभागमा बसे । भण्डारी प्रशासन विभाग प्रमुख भएका बेला तत्कालीन गृहमन्त्री वामदेव गौतमले प्रहरीलाई आवश्यक पर्ने हतियार खरिद गर्न खोजेका थिए, तर भण्डारीले रोकिदिए ।
गृहमन्त्रीले हतियार किन्न गरेको प्रस्ताव रोकिएपछि गौतम र आईजीपी अर्यालबीच खटपट सुरु भएको थियो । मन्त्री र आईजीपीबीच द्वन्द्व निम्त्याएर आफू आईजीपी हुने कसरत गरेको भण्डारीमाथि आरोप लागाइयोे । सोही आरोपमा आईजीपी अर्यालले भण्डारीलाई प्रहरी प्रशासनदेखि टाढा रहने स्थान सुरक्षा परिषद्मा सरुवा गरेका हुन् । त्यसबेलादेखि अहिलेसम्म भण्डारी र अर्यालबीच बोलचाल बन्द छ । अर्यालले प्रहरीको नेतृत्व गरेको ठ्याक्कै साढे दुई वर्ष पूरा भएको छ । तर, यो नेतृत्वबाट संगठनले जुन अपेक्षा गरेको थियो, त्यो विस्तारै निराशामा बदलिन थालेको छ । ‘आईजीपी अर्याल र उनका ब्याचीबीचको मित्रता अहिले दुश्मनीमा बदलिएको छ । पद र महŒवाकांक्षाले उनीहरूको मित्रता मात्र टुटेन, प्रहरी नेतृत्वको एकता नै छिन्नभिन्न हुन पुगेको छ,’ एक प्रहरी अधिकृतले भने ।
आईजीपी अर्यालको आफू निकट एआईजीहरूसँग पनि राम्रो सम्बन्ध छैन । पहिलो नम्बरका र क्षमतावान् मानिने एआईजी भण्डारी राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा भएपछि प्रहरी संगठनमा लोभीपापी एआईजीहरूको मात्रै बोलवाला चल्न थालेको एक अधिकृतले बताए । प्रहरी एकेडेमीमा रहेका दोस्रो नम्बरका सुरेन्द्रबहादुर शाह पनि आईजीलाई सल्लाह दिन चाहँदैनन् ।
तुलनात्मक रूपमा कम व्यावसायिक एआईजीका रूपमा चिनिएकालाई आईजीपीले महŒवपूर्ण विभागको जिम्मेवारी दिएर इवी साँध्ने काम गरिरहेका छन् । एआईजी भण्डारीले राष्ट्रिय प्रहरी तालिम प्रतिष्ठानमा हुँदा सुधारको प्रयास गरेका थिए । एआईजी शाहले पनि अपराध अनुसन्धान विभागलाई नयाँ स्वरूपमा अघि बढाए । तर, उनीहरू दुवैजना यतिबेला आईजीपीबाट टाढा छन् । पाँच महिना मात्रै काम गर्ने अवस्था रहेकाले अब सरुवा हुने समय पनि नभएपछि एआईजी भण्डारी सुरक्षा परिषद्बाटै बिदा हुनेछन् ।
आईजीपीको संगठन चलाउने कार्यशैली दम्भपूर्ण देखिने गरेको एआईजीहरूले गुनासो गर्दै आए पनि उनीहरूविरुद्धमा जान सक्ने अवस्था भने छैन । आईजीपी र एआईजीबीच सधैँ टकराव हुनुको एउटा कारण भनेको दुई पदबीचको दूरी हो । अधिकारका हिसाबले आईजीपी र एआईजीपीबीचको दूरी डीआईजी र इन्स्पेक्टरबीचको जस्तो छ । अझ जथाभावी एआईजीका दरबन्दी सिर्जना गर्ने प्रवृत्तिले एआईजीसँग एसपीको जति पनि अधिकार हुँदैन । नेपाल प्रहरीमा सुरुमा एआईजीको दरबन्दी एउटा मात्र थियो । संगठनको नभई व्यक्तिको आवश्यकताअनुसार त्यसलाई बढाउँदै जाँदा अहिले एआईजीको संख्या ११ वटा पुगेको छ । अदालतबाट बढुवा भएका एआईजी भने गृहमा हाजिर गर्ने घर जाने मात्रै काम भएको छ ।