१२ बैशाख २०८१, बुधबार
Follow Us

काठ ओसारपसारमा संलग्न रहेको आरोपमा चार सशस्त्र प्रहरी कारबाहीमा

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७५, बिहीबार ०९:१९

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गाडीमा काठ राखेर अन्यत्र लैजाने कार्यमा संलग्न रहेका सशस्त्र प्रहरी बल नेपाल अरुण गुल्म चैनपुर संखुवासभाका सशस्त्र प्रहरी नायव उपरीक्षक रामप्रसाद भण्डारीलाई सशस्त्र प्रहरी बलले निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु गरेको छ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक एवं सशस्त्र प्रहरीका प्रवक्ता बावुराम पाण्डेद्वारा जारी विज्ञप्ती अनुसार उक्त घटनामा संलग्न रहेका अन्य तीन जना सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल र मिलनकुमार राई तथा सो गाडीका चालक सशस्त्र प्रहरी जवान दिपेन्द्रकुमार कर्माकारलाई समेत निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु भएको छ । उनीहरुले यही जेठ २१ गते सो गुल्मको बा. १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर धरानतर्फ लैजान लागेको अवस्थामा धनकुटा जिल्लाको मूलघाट भन्ने ठाउँमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मूलघाट धनकुटाको एपीएफ टोलीले नियन्त्रणमा लिएको थियो ।

सो घटनाबारे जानकारी प्राप्त हुनासाथै पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको अध्यक्षतामा छानवीन समिति गठन गरिएको थियो । सो घटनाको गाम्भीर्यतालाई ध्यानमा राखेर तत्कालै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय छानवीन समिति गठन गरिएको थियो । छानवीन समितिमा सशस्त्र प्रहरी उपरीक्षक नेत्रकुमार खत्री र सशस्त्र प्रहरी नायव उपरीक्षक कमलप्रसाद तिउसिना सदस्य रहेका छन् ।

प्रारम्भिक छानवीनबाट ती सशस्त्र प्रहरी कर्मचारीहरुले कुनै पनि निकायमा कुनै जानकारी समेत नगराई संगठनको मर्यादा र नीति विपरित कार्य गरेको देखिन आएपछि उनीहरुलाई निलम्वन गरी कारवाही गर्ने प्रक्रिया सुरु गरिएको हो । छानवीन समितिले स्थलगत अध्ययन गर्नुकासाथै सोधपुछ र अनुसन्धान गर्दा उनीहरुको दोष देखिन आएको प्रतिवेदन दिएको छ । तत्काल उनीहरुलाई निलम्वन नगरिदा प्रमाण लोप गर्ने प्रयास गर्न सक्ने हुँदा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ११६ को उपनियम १ को खण्ड ख र घ अनुसार निलम्वनको प्रक्रिया सुरु गरिएको हो । उक्त घटनालाई सशस्त्र प्रहरी बलले गम्भीरताकासाथ लिएको र दोषी उपर कडा कारवाही गरिने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।