६ बैशाख २०८१, बिहीबार
Follow Us

पौडेल-सिटौला समूहको प्रहार रोक्न देउवा समूहको तयारी

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७५, बिहीबार ०९:३५

काठमाडौं । असार ५ देखि ७ गतेसम्म नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बेला हेटौंडामा हुँदैछ । यो विधानअनुसार आयोजना गरिएको भेला होइन । यद्यपि यो भेलाले कांग्रेसभित्रको समूहगत मनमोटावलाई वहसमा रुपान्तरण गर्ने अनुमान गरिएको छ । त्यसैले भेलामा सभापति देउवाको खुलेर विरोध गर्ने तयारी पौडेल र सिटौला समूहले गरेको छ भने त्यसको प्रतिरक्षा गर्न सभापति शेरबहादुर देउवाको समूह पनि तयारी अवस्थामा रहेको बुझिएको छ ।

पौडेललाई नेता कृष्णप्रसाद सिटौला समूहले पनि साथ दिने संकेत गरेको छ । भदौमा बोलाइएको महासमिति बैठकलाई समेत प्रभावमा पार्ने गरी दुई समूहबीच टकराव हुने छलफल हुने काँग्रेसकै नेता-कार्यकर्ताहरु बताउँछन् ।

जिल्ला सभापति भेला अघिको पौडेल तथा सिटौला समूहको समूहगत कार्यक्रमले समेत सभापति देउवा विरुद्ध कडै रुपमा प्रस्तुत हुने संकेत गरेको छ । राष्ट्रिय भेलालाई आफ्नो पक्षमा पार्न नेताहरुको सक्रियता बढेको छ । आफ्नो पक्षमा रणनीति तयार पार्न नेताहरुले आन्तरिक छलफल तथा भेटघाटलाई तीव्र बनाएका छन् । निर्वाचनमा पराजित हुनुमा सभापतिको कार्यशैलीलाई दोष दिँदै आएका दुवै नेताले एउटै मञ्चमा उभिएर एकै स्वरमा देउवाको विरोध गर्दैै आएका छन् ।