१३ बैशाख २०८१, बिहीबार
Follow Us

राजपालाई सरकारमा ल्याउने गृहकार्य

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७५, बिहीबार १५:०७

काठमाडौं । सरकारले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई सरकारमा ल्याउने गृहकार्य थालेको छ । सरकारमा सहभागी हुने विषयमा सत्तारुढ दलका नेता र राजपाका नेताहरुबीच अनौपचारिक छलफल भएपनि औपचारिक छलफल भने हुन सकेको छैन ।

संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएपछि राजपा सरकार दिएको समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुने भन्नेमा गम्भीर दोधारमा छ । संविधान संशोधनसहित सरकारसँग दुईबुँदे सहमति गरेर सहयात्री दल सरकारमा सहभागी भएपछि राजपा समस्या परेको हो । संविधान संशोधनको एकसूत्रीय माग राखी कुनै बेला सहयात्री बनेको एक दल सरकारमा सहभागी भएपछि राजपाभित्र यही विषयले विवाद पनि निम्तियो ।

सरकारमा सहभागी हुने कि समर्थन फिर्ता लिने भन्नेमा अनिर्णयको बन्दी भइरहेको अवस्थामा सत्तारुढ दल राजपालाई सरकारमा ल्याउन प्रयासरत् छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता दीनानाथ शर्माले मधेसकेन्द्रित दलहरुले उठाएका मागलाई संसदमार्फत् सम्बोधन गर्न राजपालाई सरकारमा सहभागी गराउने प्रयास भइरहेको बताए ।

राजपाको मागअनुसार संविधान संशोधन गर्न सरकार तयार भएपछि राजपा पनि सरकारमा जान आतुर देखिन्छ । राजपा नेपालका महसचिव केशवकुमार झाले संविधान संशोधनका अन्तर्वस्तुमा सरकारको तर्फबाट थप प्रस्टता भए आफूहरु सरकारमा सहभागी हुने जानकारी दिए ।

हुन त वर्तमान सरकारसँग दुईतिहाइ बहुमतभन्दा बढीको समर्थन छ । आफूसँग दुईतिहाइ बहुमत सुरक्षित हुँदा पनि थप समर्थन बढाउने सरकारको प्रयासलाई राजनीतिक वृत्तमा प्रधानमन्त्री केपी शर्मा ओलीको गैरकांग्रेस सरकार बनाउने रणनीतिकारुपमा लिइएको छ ।

तर, सत्तारुढ दलका नेता दीनानाथ शर्मा भने यो तर्कसँग सहमत छैनन् । सरकारमा सहभागीताबारे सत्तापक्ष र राजपाका नेताहरुबीच अहिलेसम्म औपचारिक छलफल नभएपनि प्रधानमन्त्री ओलीको चीन भ्रमणलगत्तै छलफल सुरु हुने दुवै पक्षको भनाइ छ ।