१२ बैशाख २०८१, बुधबार
Follow Us

रेडिंगमा बृहत भलिबल प्रतियोगिता हुने

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७३, मंगलवार ११:००

लण्डन । रेडिंग नेपाली भलिबल क्लबको आयोजनामा आउंदो सेप्टेम्बर ११ तारिख आइतबारका दिन एक बृहत भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

रेडिंगको सिन्ट्रा पार्क एभिन्यू (RG2 7AU) मा पुरुष र महिलाका टोलीहरुबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ एक दर्जन र महिलातर्फ आधा दर्जन गरी करिब डेढ दर्जन नेपाली भलिबल टोलीको सहभागिता रहने अपेक्षा आयोजकको छ । रेडिंगसहित लण्डन, विन्चेस्टर, स्वीण्डन, गिलफोर्ड, न्यूवरी, अल्डरसट र स्कटल्याण्डबाट समेत भलिबल टोलीहरु आउने प्रतियोगिताका संयोजक सन्तोष गुरुंगले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक टोलीले आउंदो सेप्टेम्बर ४ तारिख आइतबारभित्र आयोजकलाई सम्पर्क गरेर टोली दर्ता गराउनुपर्नेछ । सहभागिताका लागि हरेक पुरुष टोलीलाई ८० र महिला टोलीलाई ६० पाउण्ड प्रवेश शुल्क लाग्नेछ ।

पुरुषतर्फको विजेतालाई ६ सय पाउण्ड नगद, ट्रफी र मेडलसहित पुरस्कृत गरिनेछ भने उपविजेतालाई २ सय नगद र मेडल दिइनेछ ।

त्यस्तै, महिलातर्फ विजेताले २ सय ५० पाउण्ड नगद, ट्रफी र मेडल तथा उपविजेताले १ सय पाउण्ड नगद र मेडलको पुरस्कार पाउनेछन । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई पनि छुट्टै पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिताका खेलहरु बिहान ९ बजेदेखि नै सुरु हुनेछन् । प्रतियोगितास्थलमा खाना तथा पेय पदार्थका स्टलहरु पनि राखिने आयोजकले बताएका छन् ।

प्रतियोगितामा टोली दर्ता गर्न तथा अन्य जानकारीका लागि आयोजकलाई 07412977007 नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

बेलायतको नेपाली समुदायमा भलिबलप्रतिको क्रेज पछिल्लो समय निकै बढेको छ । गत एक महिनाको अवधिमा मात्रै चाल्र्टन समाज र गुल्मी जिल्ला समाज यूकेको आयोजनामा दुई प्रतियोगिता सम्पन्न भएका थिए । युवाहरुले बेलायतका सबै नेपाली भलिबलप्रेमीहरुको आकांक्षालाई समेटेर बेलायतव्यापी प्रतियोगिता आयोजना गरिदिन एनआरएन यूकेलाइ पत्र नै लेखेर समेत आग्रह गरेका छन् ।