१६ चैत्र २०८०, शुक्रबार
Follow Us

फ्रान्सद्वारा अष्ट्रेलिया २-१ ले पराजीत

नेपालब्रिटेन संवाददाता
२ असार २०७५, शनिबार १४:०६

काजन । विश्वकप फुटबलको तेस्रो दिन तथा समूह ग अन्तर्गतको पहिलो खेलमा शनिबार फ्रान्सले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजीत गरेको छ । काजनमा भएको खेलमा फ्रान्सका लागि एन्टोनी ग्रीज्म्यानले भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को पहिलो निर्णयको माध्यमबाट पाएको पेनाल्टी सुटआउटको अवसरलाई सिधै गोल गर्नुभएको थियो । खेलको पहिलो हाफमा बराबरी रहेको अष्ट्रेलियालाई दोस्रो हाफको ५८ औँ मिनेटमा गोल गरेर खेल आफ्नो पकडमा लिन सफल भएको थियो ।

फ्रान्स विश्वकप फुटबलमा यस वर्षमात्र प्रयोगमा ल्याइएको भिएआर प्रणालीको माध्यमबाट आफ्नो पोल्टामा निर्णय पार्ने भाग्यमानी पहिलो टोली भएको छ । फ्रान्सले गोल गरेको चार मिनेटभित्रै ६२ औँ मिनेटमा अष्ट्रेलियालाई मिलेको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै माइल जेदिनाकले खेललाई बराबरीमा सीमित गराउनुभयो ।

तर खेलको अन्तिम समयतिर ८१ औँ मिनेटमा फ्रान्सका पाउल पोग्वाले गोलका लागि पाएको सुन्दर अवसरलाई सदुपयोग गरेपछि अष्ट्रेलियाका लागि खेलमा निकै प्रेसर परेको थियो । दुवै समूहले निकै प्रतिस्पर्धात्मक रूपमा आफूलाई प्रस्तुत गर्दा खेल निकै उत्साहजनक रहेको थियो । तर खेलमा पोग्वाको दोस्रो गोल नै फ्रान्सको विजयका लागि निर्णायक भएको थियो । शनिबारको दोस्रो खेल अजेन्टिना विरुद्ध आइसल्याण्ड र तेस्रो खेल पेरू र डेनमार्कबीच हुनेछ ।