१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कार्यकर्ता पक्राउको विरोधमा विप्लवनिकट विद्यार्थीको हडताल

sarusaru
३ असार २०७५, आईतवार ०६:१९

काठमाडौं । विप्लवनिकट अखिल क्रान्तिकारीले देशव्यापी शैक्षिक हड्ताल आह्वान गरेको छ । केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकसहितका कार्यकर्ताहरुलाई पक्राउ गरेको विरोधमा क्रान्तिकारीले देशभरका स्कुल र कलेज बन्दको घोषणा गरेको हो ।

बन्दबारे पूर्व जानकारी नपाएकाहरु विद्यालयसम्म पुगेर फर्किन बाध्य भएका छन् । कतिपय विद्यार्थीहरु घरमै समय बिताइरहेका छन् ।

विप्लवनिकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विकसहितका नेता कार्यकर्ताहरुलाई केही दिनअघि चाबहिलबाट प्रहरीले पक्राउ गरेको थियो । अध्यक्ष ढकाल रिहा भए पनि विकलाई बौद्ध प्रहरीले छाडेको छैन ।

अध्यक्ष ढकालले शैक्षिक हड्ताल गर्नु आफूहरुको रहर नभएर बाध्यता भएको बताए । ‘हाम्रा दजैनौं साथीहरुलाई प्रहरीले पक्रेको छ । छुटाउन ज्ञापनपत्र बुझाउने लगायतका काम गर्यौं तर प्रशासनले सुनेन,’ ढकालले भने, ‘शैक्षिक हड्ताल गर्नु आफैंमा राम्रो त होइन, तर यो हाम्रो बाध्यता हो ।’

विप्लवनिकट विद्यार्थी संगठनको शैक्षिक हड्तालमा विपक्षी दल सम्बद्ध केही विद्यार्थी संगठनले पनि ऐक्यबद्धता जनाएका छन् । गोपाल किराँती नेतृत्वको माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझीले आजको शैक्षिक हड्ताललाई नैतिक समर्थन भएको बताए ।
अनलाइन खबर