७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन सनफ्रान्सिस्को विज्ञ सम्मेलन सम्पन्न (निर्णय सहित)

नेपालब्रिटेन डट कम्
३ असार २०७५, आईतवार ०७:०८

सनफ्रान्सिस्को । गैरआवासीय नेपाली संघ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाद्धारा शनिवार संयुक्त रुपमा आयोजित नेपालमा सीप, ज्ञान र प्रविधि हस्तान्तरणका निम्ति विज्ञ भेला क्यालिफोनियाको सनफ्रान्सिस्को शहरमा भव्यताका साथ सम्पन्न भयो । भेलामा ३०० जना भन्दा बढीको सहभागिता थियो । नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ बृहत बनाउने विषयमा भेला केन्द्रित भएको संघका प्रवक्ता भुषण घिमिरेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिको पूर्णपाठ
गैरआवासीय नेपाली संघ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाद्धारा १६ जुन २०१८ मा संयुक्त रुपमा आयोजित नेपालमा सीप, ज्ञान र प्रविधि हस्तान्तरणका निम्ति विज्ञ भेला क्यालिफोनियाको सनफ्रान्सिस्को शहरमा भव्यताका साथ सम्पन्न भयो । भेलामा ३०० जना भन्दा बढीको सहभागिता थियो । नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ बृहत बनाउने विषयमा भेला केन्द्रित थियो ।

नेपालमा संक्रमणकालिन अवस्थाको अन्त्य भई नयाँ राजनीतिक संरचना र स्थिर सरकार गठन भएको सन्दर्भमा यो सम्मेलनले नेपालको आर्थिक र समाजिक विकासका योगदान दिने छ । विदेशमा कार्यरत नेपाली समुदायले आर्जन गरेको विज्ञता, सिप र दक्षतालाई नेपालको आवश्यकता अनुसार कसरी उपयोग गर्न सकिन्छ भन्ने पहिचान गरी नेपाल सरकारसंग मिलेर अर्को बृहत सम्मेलन आयोजना गर्ने पूर्व तयारीका रुपमा यो सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा विभिन्न ७ वटा विषयहरु शिक्षा र विकास, स्वास्थ्य, विज्ञान प्रविधि, सूचना प्रविधि, वातावरण, पर्यटन र नविकरणीय उर्जा, आर्थिक समाजिक क्षेत्रसंग सम्वन्धित ३० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । विदेशमा कार्यरत बौद्धिक समुदायको ज्ञान, सिप र दक्षतालाई नेपालको आर्थिक, प्राविधिक, वैज्ञानिक, सामाजिक विकास लगायतका क्षेत्रमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषमा केन्द्रित रही कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । प्रस्तुत कार्यपत्र माथि नेपालमा कसरी दक्षता, ज्ञान र सिप उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही कार्यपत्रहरुमाथि छलफल भएको थियो ।

सम्मेलनमा नेपाल सरकारका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, पूर्व अर्थमन्त्री डा। प्रकाशचन्द्र लोहनी, पूर्व पर्यटनमन्त्री रेवती प्रसाद भुसाल, अमेरिकाका लागि नेपालका महामहिम राजदुत डा। अर्जुन कार्की, न्यूयोर्कका लागि महावाणिज्यदुत मधु मरासिनी तथा एनआरएनएका अध्यक्ष भवन भट्ट, पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य, महासचिव डा। बद्री केसी, प्रवक्ता भूषण घिमिरे, सल्लाहकारहरु डा। हेमराज शर्मा, हरिबोल भण्डारी लगायत एनआरएन अमेरिका क्षेत्रका एनआरएन पदाधिकारी र एनआरएनमा सक्रिय अभियन्ताहरुको सहभागिता थियो । कार्यक्रम एनआरएनए अमेरिका क्षेत्रका संयोजक गौरी जोशीको संयोजनमा भएको थियो । एनआरएनए अमेरिकाको साधारणसभाको पुर्वसन्ध्यामा क्यालिफोर्निया शाखाको आतिथ्यतामा भेला सम्पन्न भयो ।

कार्यक्रममा अमेरिका, क्यानडा, वेलायत, जापान, मलेसिया, जमर्नी, रसिया, साइप्रस लगायतका देशहरुबाट सहभागिता थियो । एनआरएनए अमेरिकाका अध्यक्ष डा। केशव पौडेल, एनआरएनए क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले लगायतका पदाधिकारी सहभागी हुनुहुन्थ्यो । विज्ञ भेलाको कार्यपत्र र प्रस्तुतीको संयोजन डा। रुद्र अर्यालको समुहले गरेको थियो । गैरआवासीय नेपाली बौद्धिक समुदायले विदेशमा आर्जन गरेको सिप, ज्ञान र दक्षतालाई नेपालको समृद्धि र उच्च दरको आर्थिक विकासका लागि उपयोग आवश्यक छ । तसर्थ एनआरएनए विदेशमा हुनुभएका विविध क्षेत्रका विज्ञहरुसंग सवन्वय गरेर पुलको रुपमा नेपाल सरकार, नीति निमार्ता र निजी क्षेत्रसंग काम गर्न प्रतिवद्ध छ ।

नेपाल सरकारकारमा माननीय मन्त्रि रविन्द्र अधिकारीले विज्ञ सम्मेलनको निष्कर्षलाई सरकारले आत्मसात गर्ने प्रतिवद्धता गर्नुभएकाले हामीलाई थप हौसला मिलेको छ ।
गैर आवासीय नेपाली विज्ञहरुले विदेशमा आर्जन गरेको सिप, दक्षता, ज्ञान र अनुसन्धान दस्तावेज लगायतको पहिचान गर्दै देशको समृद्धिका लागि उपयोग गर्न सहयोग हुनेगरी विवरण राख्ने व्यवस्था एनआरएनएले गर्नेछ । विज्ञ भेला तथा काठमाडौंमा हुने सम्मेलनबाट आएका निष्कर्षलाई नेपालको समृद्धिमा उपयोग गर्न नेपाल सरकारसंग सहकार्य गर्दै संघले दिर्घकालिन कार्यक्रमहरुको तर्जुमा गर्नेछ । क्षेत्रिय रुपमा सम्पन्न हुने विज्ञ भेलाहरु र आगामी अक्टोबरमा काठमाडांैमा हुने सम्मेलनबाट आएका निष्कर्षहरुलाई श्वेतपत्र तयार गरी नेपाल सरकारका सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० मा एनआरएनएलाई प्रमुख साझेदार बनाउने मन्त्री अधिकारीको आग्रहलाई स्विकार्दै हामी यसका लागि सकृय भई सफल बनाउन हाम्रो संजाललाई अधिकतम् उपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दर्छौ । संविधानमा उल्लेखित गैर आवासीय नेपालीलाई नागरिकता दिने प्रावधानलाई सकेसम्म छिटो आवश्यक कानुन बनाएर लागु गर्न यो भेलाको सरकारलाई आग्रह छ ।
भूषण घिमिरे
प्रवक्ता
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद