११ बैशाख २०८१, मंगलवार
Follow Us

सभापति देउवाको आक्रोस– आफू जित्न नसक्ने अरुलाई दोष दिने ?

नेपालब्रिटेन संवाददाता
४ असार २०७५, सोमबार १५:०१

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातीलाई कारबाही गर्दै पार्टीलाई एकढिक्का बनाउने अभियानमा आफू लागेको बताएका छन् । सोमबार चितवनको भरतपुरमा नेपाल दलित संघले आयोजना गरेको प्रदेशस्तरीय दलित प्रतिनिधिहरुका लागि दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रका अन्तरघातीलाई कारबाही गरी छाड्ने चेतावनी दिए ।

उनले पार्टी एक हुनुको विकल्प नरहेको भन्दै कांग्रेसलाई अन्तरघातमुक्त पार्टी बनाउन आफू लागिपरेको बताए । ‘अन्तरघातीलाई कारबाही गर्ने, पार्टीलाई एक गराउने, सबैभन्दा ठूलो एक नम्बरको पार्टी बनाएरै छाड्ने मेरो अभियान हो’–उनले भने । ‘अन्तरघातमुक्त पार्टी बनाउनु छ । पार्टीलाई एक गर्नुछ’–सभापति देउवाले भने–‘उता दुईओटा पार्टी एकजस्तै भइसके । हाम्रो एउटा पार्टी दुईओटाजस्तो छ अनि कहाँ हुन्छ ? पार्टी एक नबनाइकन पार्टी चल्दैन ।’

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेस एक्लै लडेकाले धेरै स्थानमा पराजित हुनुपरेको भन्दै उनले पार्टी हार्नुको अर्को कारण अन्तरघात रहेको जिकिर गरे । ‘दुईओटा पार्टी एक भएर लड्दा कांग्रेस एक्लै लडेको हो । म ग्यारेन्टीका साथ भन्छु २५ सिट हाम्रो अन्तरघातले घटेको हो’–उनले भने । उनले टिकट वितरणमा गल्ती भएको भए पछि कुरा गर्नसकिने अवस्था रहेको भन्दै सबै दोष आफूलाई थोपार्नु जायज नभएको बताए ।

‘चुनाव हार्नेले भन्नुपर्‍यो, कसरी चुनाव हारेको ? टिकट बाँड्ने काम सबैले मिलेर बाँडेको हो, मैलेमात्र होइन’–आक्रोशित हुँदै उनले भने–‘यस्तो वातावरण बनाए कि शेरबहादुर देउवाका कारण सबै हारे । हद हुन्छ नि ! हार्नुको कारण भन्नुपर्‍यो । आफू जित्न नसक्ने अनि दोष अरुलाई दिने ?’

त्यसअघि, कार्यक्रममा कांग्रेस सहामन्त्री डा. प्रकाशशरण महत, नेपाल दलित संघका संस्थापक अध्यक्ष मानबहादुर विक, कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, पूर्वराज्यमन्त्री शेषनाथ अधिकारीलगायतले पार्टीभित्रको अन्तरघातका विषयमा कुुरा उठाएका थिए ।