१५ चैत्र २०८०, बिहीबार
Follow Us

५७ दलित परिवारलाई जस्तापाता

sarusaru
५ असार २०७५, मंगलवार ०५:१७

डडेल्धुरा – डडेल्धुराका ५७ दलित परिवारलाई जस्तापाता वितरण गरिएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिकाले खरले छाएका घरलाई खरमुक्त बनाउन जस्तापाता वितरण गरेको हो । भागेश्वर गाउँपालिका–४ का ५७ परिवार दलितलाई जस्तापाता वितरण गरेको गाउँपालिका अध्यक्ष कौशिलाकुमारी भट्टले बताउनुभयो ।

दलितले खरको छानो भएका घरमा बस्दा विभिन्न समस्या भोग्दै आएकाले उनीहरुलाई खरमुक्त घर निर्माणमा टेवा पु¥याउन जस्ता वितरण गरिएको जनाइएको छ । वर्षौंदेखि सञ्चालन गरेको आरन व्यवसाय पनि नियमित गराउनका लागि जस्तापाता उपलब्ध गराई सहयोग गरेको अध्यक्ष भट्टको भनाइ रहेको छ ।

भागेश्वर–४, बन्चुल, डुङ्गरीलगायत गाउँका ५७ दलित परिवारलाई जस्तापाता वितरण गरिएको हो । उनीहरुको आयआर्जनमा वृद्धि गर्नका लागि र उनीहरुले गर्दै आएको आरन व्यवसायलाई व्यवस्थितरुपमा सञ्चालन गराउन गाउँपालिकाले जस्तापाता वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

आयस्रोत न्यून भएका र वर्षाको समयमा उनीहरुले गर्दै आएको पुख्र्यौली व्यवसायलाई नियमित सञ्चालन गराउनका लागि निःशुल्क रुपमा पाता वितरण गरिएको अध्यक्ष भट्टले जनाउनुभएको छ ।

वर्षात्को समयमा छानोबाट पानी चुहिने समस्या भोग्दै आएकाले गाउँपालिकाले आफ्नो पीडा बुझी जस्तापाता दिँदा दलित परिवार हर्षित बनेका छन् ।

गर्मी र वर्षात्को समयमा व्यवसायसमेत बन्द गर्नुपर्दा खान लाउन पनि समस्या उत्पन्न हुने वडा नं ४ का धने लुहारले बताउनुभयो । जस्ताले घर छाउदा व्यवसाय नियमित सञ्चालन गर्न सकिने लुहारको भनाइ रहेको छ । भागेश्वर गाउँपालिकाले दलित लक्षित कार्यक्रमअन्तर्गत जस्तापाता निःशुल्करुपमा वितरण गरेको हो ।
रासस