१६ चैत्र २०८०, शुक्रबार
Follow Us

श्रद्धाञ्जलीका लागि देवकोटाको पार्थिव शरीर न्यूरो अस्पतालमै

नेपालब्रिटेन संवाददाता
५ असार २०७५, मंगलवार ०५:३७

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । अन्तिम श्रद्धाञ्जलीपछि आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पताल प्रशासनले जनाएको छ ।

क्यान्सर रोगबाट पीडित डा. देवकोटाको हिजो साँझ उपचारको क्रममा निधन भएको थियो । निधन भएको खबर पाएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेताहरु हिजै साँझ न्यूरो अस्पताल पुग्नु भएको थियो । हिजै साँझदेखि नै अस्पतालमा सर्वसाधारण र शुभेच्छुकहरुको भिड लागेको छ । दिवंगत डा. देवकोटालाई ढाका टोपी लगाइएको छ ।

देवकोटाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।

पित्तथैलीको क्यान्सरको बेलायतमा प्रारम्भिक उपचार गराउनु भएका डा. देवकोटा स्वदेशमै देहत्याग गर्ने इच्छा अनुसार घर फर्किनु भएको थियो । स्वदेश फर्किएदेखि उहाँ आफैले स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गराईरहनु भएको थियो । केही दिन पहिले डा. देवकोटाकै चाहनाअनुसार उहाँलाई गृहजिल्ला गोरखा पनि लगिएको थियो ।

डा. देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको विस्तार गर्नु भएको थियो । वीर अस्पतालमा न्यूरो सर्जरी विभाग स्थापना गर्नु भएका उहाँले आफू स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रुपान्तरण गर्नु भएको थियो ।