१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओली चीन प्रस्थान, भ्रमणमा चार दर्जन पत्रकार

नेपालब्रिटेन संवाददाता
५ असार २०७५, मंगलवार ०५:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि चीन प्रस्थान गर्नुभएको छ । छ दिने औपचारिक भ्रमण १ सय १९ जनाको टोली समावेश छ । त्यसमा चार दर्जनजति सञ्चारकर्मी रहेका छन् ।

प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनुहुन्छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधामनन्त्री ओलीले चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्नाका साथै नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत् समूहलाई बेइजिङमा सम्बोधन गर्नु हुने छ ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सी चीन पिङले अघि सार्नुभएको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी, ऊर्जा, पर्यटनलगायत विषयमा द्विपक्षीय छलफल र समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी दिनु भयो । द्विपक्षीय सहयोगलाई अझ घनीभूत तथा फराकिलो बनाएर लैजाने मुख्य उद्देश्यसहित भ्रमण हुन लागेको सचिव वैरागीले जानकारी दिनु भयो ।

भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नुहुनेछ । त्यहाँ उहाँले तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्नु हुनेछ ।

प्रधानमन्त्रीका साथ सरकारी प्रतिनिधिमण्डलमा ४२, सञ्चारकर्मी छ र बेइजिङस्थित नेपाली दूतावासका आठजना सहभागी हुनुहुनेछ । त्यसैगरी विभिन्न सञ्चारमाध्यका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार ११ र उद्योगी व्यापारीको टोलीमा ५२ जना सहभागी हुनु हुनेछ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते स्वदेश फर्कनेछ ।