४ बैशाख २०८१, मंगलवार
Follow Us

बुधबार राष्ट्रपति सी र प्रम ओलीबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
५ असार २०७५, मंगलवार १५:५९

बेइजिङ । चीन भ्रमणका रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चीनका राष्ट्रपति सी जिङपिङसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ ।

चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि प्रधानमन्त्री ओलीले नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्नुहुने छ । बेइजिङमा रहँदा उहाँ हिल्टन होटलको देउताइ स्टेट गेष्टहाउसमा रहनुहुनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी ली खछ्याङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार उहाँले चीनका वरिष्ठ नेतासँग भेटवार्ता गर्नुहुनेछ । भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नाका साथै तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्नुहुनेछ ।

परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले चीनका राष्ट्रपति सीले अघि सार्नुभएको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा समेत हस्ताक्षर हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालको आर्थिक सामाजिक विकास र समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्यलाई केन्द्रविन्दुमा राखेर प्रधानमन्त्रीको भ्रमणको तयारी गरिएको छ ।” द्विपक्षीय सहयोगलाई अझ घनीभूत तथा फराकिलो बनाएर लैजाने मुख्य उद्देश्यसहित भ्रमण हुन लागेको सचिव वैरागीले जानकारी दिनुभयो ।
– हरि लामिछाने