१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वरिष्ठ स्नायु विशेषज्ञ डा देवकोटाको दाहसंस्कार सम्पन्न

नेपालब्रिटेन संवाददाता
५ असार २०७५, मंगलवार १६:०३

काठमाडौं । वरिष्ठ स्नायु रोग विशेषज्ञ डा उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गर्नुभएको थियो ।

श्रीमती मधु देवकोटा दीक्षित, छोरीहरु मेघा, वसुधा र मञ्जरीले पार्थीव शरीरमा दागबत्ती दिनुभएको थियो । पित्त नलीको क्यान्सरबाट छ महिनादेखि पीडित डा देवकोटाको सोमबार ३ः३५ बजे बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो ।

आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि अस्पताल परिसरमै पार्थिव शरीर राखिएपछि दिउँसो १ः०० बजे शवयात्रासहित पशुपति पु-याइएको थियो । उहाँको अन्तिम दर्शनका लागि राजनीतिक दलका नेता, उच्च सरकारी अधिकृत, चिकित्सक, बिरामी तथा सर्वसाधारण ठूलो संख्यामा अस्पताल पुगेका थिए ।

डा देवकोटाको सात दिनसम्म गरिने काजकिरिया श्रीमती तथा छोरीहरुले गर्ने अस्पतालले जनाएको छ । विसं २०१० पुस ४ गते जन्मनु भएका डा देवकोटाले आफ्नो जीवनको करीब ३५ वर्ष नेपालको स्वास्थ्य सेवामा स्नायु विशेषज्ञका रुपमा बिताउनुभएको थियो ।