१२ बैशाख २०८१, बुधबार
Follow Us

अमेरीकामा १८ नेपालीसहित ८० जना पक्राउ

नेपालब्रिटेन संवाददाता
६ असार २०७५, बुधबार १२:२६

काठमाडौं । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाई गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको छ । अधिकारवादी संघसंस्थाहरुका अनुसार उनीहरुलाई ओरेगनको एउटा कारागारमा राखिएको छ ।

मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ । त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य(अमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जानकारी दिएको छ ।
सो संस्थाले इनोभेसन ल ल्याब नामक अर्को संस्थासँग मिलेर थुनामा राखिएका आप्रवासीहरूलाई सहायता गर्ने प्रयास गरिरहेको बताएको छ ।

एउटा प्रेस विज्ञप्तिमा एसियन प्यासिफिक नेटवर्क अफ ओरेगनले भनेको छ, पक्राउ गरिएकाहरूलाई एक्लाएक्लै राखिएको छ र कानूनी अधिकारबाट उनीहरूलाई बञ्चित गरिएको छ । उसका अनुसार उनीहरूलाई अनुवादकसँग सीमित पहुँच दिइएको छ र अहिलेको व्यवस्था अनुसार उनीहरूमाथि दुव्र्यवहार हुन सक्ने अवस्था छ ।