७ बैशाख २०८१, शुक्रबार
Follow Us

चीनसँग रेल सम्झौता आज

नेपालब्रिटेन संवाददाता
७ असार २०७५, बिहीबार ०४:५२

बेइजिङ । चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका समकक्षी ली खछ्याङबीच आज भेटवार्ता हुँदैछ । भेटवार्तापछि दुबै प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–चीन द्विपक्षीय बैठक हुनेछ । बैठकमा नेवाल–चीन सम्बन्धका सबै आयामहरुमा छलफल हुनेछ । द्विपक्षीय छलफलमा अहिलेसम्म भएका सन्धी, सम्झौता र तीनको कार्यान्वयनको पक्षमा कुराकानी हुनेछ ।

बैठक सकिएपछि दुबै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ । त्यही बेला दुई देशबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुने भ्रमणमा सहभागि सदस्यले बताएका छन् । यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ रेललाई काठमाडौंसम्म पु-याउने प्रतिवद्धता दोहो-याउनु भएको छ । प्रधानमन्त्री ओलीसँगको भेटमा राष्ट्रपति सीले केरुङ हुँदै काठमाडौं–पोखरा–लुम्बिनीसम्मको रेलमार्ग निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता दोहो-याउनु भएको हो ।

उत्तरी रेल काठमाडौं पु-याउने विषयमा चीन र नेपाल सहमत भएका छन् । तर, रेलमार्ग निर्माणमा लगानी कसको रहने भन्ने विसयमा आज मात्रै टुंगो लाग्ने भएको छ । चिनियाँ राष्ट्रपति सीले बेल्ट एण्ड रोड ईनिसियटिभ्स परियोजना अन्तर्गत चिनियाँ रेल तिब्बतको सिगात्सेसम्म पुगिसकेको छ, काठमाडौं टाढा छैन, भन्नु भएको छ । तर, उहाँको भनाईले काठमाडौंसम्म रेल पु-याउन चीन सम्पूर्ण रुपमा अनुदान नदिने संकेत दिएको छ ।

आज रेलमार्गको सम्भाव्यता अध्ययनको प्रारम्भिक सम्झौता हुनेछ । केरुङ–रसुवागढी–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययनका लागि चिनियाँ टोली नेपाल आएर पनि फर्किएको छ । प्रधानमन्त्रीको भ्रमण टोली र चिनियाँ पक्षबीच डेढ वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पार्ने र अबको ६–७ वर्षभित्रमा काठमाडौँमा रेल ल्याईसक्ने सम्मको छलफल भएको छ ।