१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कमलरी अस्मिताको मृत्यु विवादित

नेपालब्रिटेन संवाददाता
७ असार २०७५, बिहीबार ०५:०१

गुलरिया । बर्दियाको बाँसगढी नगरपालिका–५, अस्नेरीकी ११ वर्षकी कमलरी अस्मिता थारुको मृत्युको सत्यतथ्य छानबिन गर्न पाँच जिल्लाका मुक्त कमलरीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । अस्मिता बढैयाताल गाउँपालिका–७, एक्काइसाका दुर्गा भण्डारीको घरमा कमलरी बसेको बताईएको छ ।

पाँच वर्षदेखि भण्डारीको घरमा कमलरी (श्रमिक) बसेकी अस्मिताको जेठ २९ गते मृत्यु भएको थियो । मुक्त कमलरी विकास मञ्च, बाँकेकी अध्यक्ष सीता थारुले अस्मितालाई बलात्कार गरेर हत्या गरी आत्महत्याजस्तो देखाउन झुण्ड्याइएको आरोप लगाउनु भयो ।

अस्मिताका बुवालाई बोलाएर भण्डारीले शवलाई गाडिसकेका छन् । मुक्त कमलरीहरुले शवलाई उत्खनन् गरेर पोष्टमार्टम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । अस्मिताको हातमा किल्ला गाडिएको छ ।

सरकारले कमलरी राख्न नपाइने घोषणा गरेपनि अझै बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा ९७ जना कमलरी रहेको मञ्चले जनाएको छ । बाँकेमा पाँच जना रहेका छन् ।

कमलरी बसेका बालिकामाथि यौनजन्य हिंसा भएका घटना बारम्बार आउने गर्दछन् । मञ्चले कैलाली टीकापुरकी सरिता चौधरी, धनगढीकी उर्मिला राना थारु, चौमालाकी मेघी चौधरी र दाङ रामपुरकी सीमा होजामगरको हत्याको छानबिन गरेर पीडकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गरेको छ ।