१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘राजा आऊ देश बचाऊ’ भनेर जनताले नारा लगाउन थालिसके

नेपालब्रिटेन संवाददाता
७ असार २०७५, बिहीबार १०:०७

गंगा विक, केन्द्रीय सदस्य राप्रपा
सामाजिक संस्था खोलेर समाज परिवर्तनको अभियानमा होमिएकी गंगा विक राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचित केन्द्रीय सदस्य हुन् । पार्टीले उनलाई उत्पीडित दलितको संगठन हेर्ने जिम्मेवारी दिएको छ । राजाको शासनकालमा कामना–२६ वडाको निर्वाचित अध्यक्षसमेत भएकी गंगा यतिबेला जागरण समूह सञ्चालन गरेर उत्पीडित महिलालाई आत्मनिर्भरको बाटो देखाइरहेकी छन् । यिनै विषयवस्तुको सेरोफेरोमा गंगासँग कुमार राउतले गरेको कुराकानी :

० जागरण समूहले के गर्छ ?
– महिलाहरूको वृत्ति विकासमा सहयोग पुग्छ कि भनेर हामीले यो संस्था स्थापना गरेका हौं । महिला दिदीबहिनीलाई आत्मनिर्भर बनाउन हामी विभिन्न किसिमको तालिम सञ्चालन गछौं । म रानीबारी महिला समाजको पूर्वअध्यक्ष हुँ ।

० महिला समाजले चाहिँ के गर्छ ?
– विकास र समाज सेवामा टेवा पुगोस् भनेर हामीले महिला समाज गठन गरेका हौं । सरसफाइ र स्थानीय प्रशासनलाई विकासमा दबाब सिर्जना गर्छाैं । पीडित महिलाको उद्धारमा सहयोग गर्छाैं । हरेक गतिविधिमा गंगा दिदी चाहिन्छ भन्छन्, मेरो जयजयकार नै गर्छन् ।

० के त्यस्तो काम गर्नुभएको छ ?
– विशेष गरी उत्पीडित महिला दिदीबहिनीका लागि काम गरेकी छु । त्यस्तै, विकास निर्माण र अप्ठ्यारो परेकालाई सहयोग उपलब्ध गराउँछु । समाजसेवामार्फत राजनीतिमा संलग्न छु । अधिकार मागेर पाइँदैन, खोसेर लिनुपर्छ भन्ने सचेतना फैलाउँछु ।

० समाजसेवा गर्नलाई संस्था नै चाहिने रहेछ ?
– जुनसुकै काम गर्न संगठित आवाजको आवश्यकता पर्छ । संस्थामार्फत संगठित हुन सजिलो हुन्छ । नितान्त व्यक्तिगत फाइदाका लागि संस्था खोलेको होइन, यो समाज र देशलाई केही दिन सकिन्छ भनेर हामीले संस्था स्थापना गरेका हौं ।

० यो संस्थामा दलित महिला मात्र अटाएका छन् ?
– होइन, जातविशेषको यो संस्था होइन, विचार मिल्नेहरूको समूह हो । समाजमा केही गर्छु भन्ने चाहना बोकेका दिदीबहिनीलाई संस्थाले समेटेको छ । महिला दिदीबहिनीलाई आत्मनिर्भर हुने बाटो देखाउँछौं । काठमाडौंमा मात्र होइन, ७७ रै जिल्लामा संगठन विस्तार गर्ने सोच बनाएका छौं ।

० कस्ता महिलाले सेवा पाउँछन् ?
– घरपरिवारले अन्यायमा पारेका, अंश नदिई घरबाट निकालिएका महिलाको पक्षमा हामी बोल्छौं । उनीहरूलाई आत्मनिर्भर हुने बाटो देखाउँछौं ।

० तपाईं काठमाडौंको रैथाने ?
– अहिले चाहिँ हो, जन्म चाहिँ नुवाकोटको दुर्गम गाउँमा भएको हो । पढाइ लेखाइ पनि गाउँमै भयो । विवाहपछि काठमाडौं आएका हौं ।

० त्यो बेला पढाउने चलन थियो ?
– बुवा राजनीतिमा हुनुहुन्थ्यो, राजधानी नजिक भए पनि हामी बस्ने ठाउँ दुर्गम थियो । पञ्चायतले स्कुल खोलेर छोरीलाई पनि पढाउनुपर्छ भनेको थियो । त्यसैले मैले पढ्न पाएँ । तर ९ कक्षा पढ्दापढ्दै विवाह भयो । त्यसपछि पढाइमा फुलिस्टप लाग्यो ।

० कहिलेको कुरा गर्दै हुनुहुन्छ ?
– यो त्यस्तै २०२७–०२८ सालतिरको कुरो हो । विवाहपछि बालबच्चा भए, हुर्काउन थालियो । सन्तान हुर्किएपछि राजनीतिमा संलग्न भइयो ।

० सानैमा विवाह भएछ ?
– होइन, विवाह हुँदा म २२ वर्षकी थिएँ । स्कुल टाढा भएकाले सानोमा जान सकिएन, ठूलै भएपछि गइयो । असल केटो माग्न आयो भनेर बुवाले विवाह गर्दिनुभो । पढेको केटीलाई पढेकै केटा आयो भनेर मेरो विवाह गर्दिनुभयो ।

० केटो असलै रहेछ ?
– असल नै भन्नुपर्छ, जीवन उहाँसँगै चल्यो । सन्तान हुर्किए । सानो छोराको विवाह गर्न बाँकी छ, बाँकी सबै आ–आफ्नो गरेर खाएका छन् ।

० श्रीमान् के गर्नुहुन्छ ?
– गाडीको मिस्त्री हुनुहुन्छ । अहिले जेठो छोरा पनि मिस्त्री नै हो । छोरीहरूको विवाह भइसक्यो । सानो छोरा संगीतमा चासो राख्छ ।

० कुन राजनीति दलमा आबद्ध हुनुहुन्छ ?
– म राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य तथा दलित संगठनको उपाध्यक्ष हुँ ।

० कुन राप्रपा ?
– राष्ट्रिय प्रजातन्त्र पार्टी एउटै छ । चुनाव चिह्न गाई हो, जसको अध्यक्ष कमल थापा हुनुहुन्छ ।

० फुटेर तीनवटा बनेको छ होइन ?
– फुटेर होइन, चोइटेर दुईवटा समूह गएका छन्, फेरि जोडिने चाँजोपाँचो मिल्दैछ । छिट्टै जोडिन्छ होला ।

० जोडिने भए किन चोइटेका रहेछन् ?
– पार्टी कब्जा गर्न सकिन्छ कि भन्ने प्रयास थियो, उहाँहरू सफल हुनुभएन । हाम्रो एजेन्डामा उहाँहरूले नेतृत्व खोजेपछि कुरा मिलेन । अन्ततः हाम्रै एजेन्डा लगेर गए । के के गरौंला भन्थे, गर्न सकेनन् । त्यसैले अब फुटेर होइन, जुटेर जाँदा सफल हुन्छ भन्ने उहाँहरूले बुझ्नु भयो ।

० पार्टीले दलित समुदायलाई उचित स्थान दिएको छ ?
– असन्तुष्टि प्रायः छैन । पद चाहियो भनेर माग्न गइएको छैन । म निर्वाचित केन्द्रीय सदस्य हुँ ।

० पार्टी सरकारमा गएका बेला सहयोग भएन ?
– अध्यक्षज्यूले सहयोग गर्छु भनेर धेरै स्थानमा भाषण त गर्नुभयो, त्यसो त उहाँ सरकारमा धेरै बस्न पाउनु पनि भएन ।

० राप्रपाबाटै किन राजनीति गर्नुभयो ?
– सिद्धान्त र एजेन्डा मात्र होइन, मातृभूमिको रक्षा गर्ने राप्रपा मात्र एउटा राजनीतिक दल हो । हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्र हाम्रो एजेन्डा हो । कांगे्रस र कम्युनिस्ट भन्ने पार्टी मेरो दिमागमै आउँदैन ।

० राजा फेरि राजदरबार फर्किएलान् ?
– फर्किनुपर्छ, आवश्यक भइसक्यो । राजा आऊ देश बचाऊ भनेर जनताले नारा लगाउन थालिसके । नेपाल र नेपाली जनताको रक्षा राजाबाट मात्र सम्भव छ ।

० गुनासा छैनन् ?
– दलित महिला जागरण समूहलाई राज्यले पनि हेरोस् भन्न चाहन्छु । हामी महिला दिदीबहिनीकै सेवामा जुटेका छौं । यस्तो संस्थालाई राज्यले संरक्षण गर्नुपर्छ भन्ने मेरो भनाइ हो ।