१५ चैत्र २०८०, बिहीबार
Follow Us

महिला सङ्घ महाधिवेशनको तयारीमा

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७३, मंगलवार १५:५७

काठमाडौं । नेपाल महिला सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनका सिलसिलामा ७३ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । सङ्घको यही भदौ २९ देखि ३१ गते काठमाडौँमा हुने तेस्रो अधिवेशनका लागि नुवाकोट र रुपन्देहीबाहेक ७३ जिल्लामा अधिवेशन सम्पन्न गरिएको केन्द्रीय सदस्य हरिप्रभा खड्गीले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट पार्टी सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनुभएपछि बसेको पहिलो केन्द्रीय समितिको बैठकले सबै भ्रातृ संस्थाको निर्वाचन ६ महिनाभित्र गरिसक्ने निर्णय गरेसँगै महिला सङ्घ अधिवेशनमा गर्न लागिएको हो ।

तेस्रो राष्ट्रिय महाधिवेशनमा दुई हजार २४४ मतदाताले मतदान गर्न पाउने भएका छन् । देशभरका २४० निर्वाचन क्षेत्रबाट नौ जनाका दरले दुई हजार १०, सभापतिले मनोनीत गर्ने १० जना, वर्तमान केन्द्रीय समिति ४४ र विदेशस्थित सम्पर्क समितिबाट ३० जनाले भाग लिन पाउने महिला नेत्री इन्दिरा तिवारीले जानकारी दिनुभयो ।

लोकतान्त्रिक राज्य व्यवस्था एवम् मूल्य पद्दतिको स्थापनाका लागि स्वर्गीय मङ्गलादेवी सिंहको नेतृत्वमा विसं २००४ साउन २४ मा स्थापना भएको महिला सङ्घको अहिले बल्ल तेस्रो अधिवेशन हुन लागेको हो ।

सामाजिक, आर्थिक र राजनीतिक रुपमा पछाडि परेका महिला वर्गको हकहितको संरक्षण र संवद्र्धन गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई अगाडि बढाउन विसं २००४ मा स्व सिंहको सक्रियतामा चिनियाँलाल श्रेष्ठको घरमा महिला भेला गराई ११ सदस्यीय कार्यसमिति गठन गरिएको थियो ।

आगामी महाधिवेशनमा वर्तमान केन्द्रीय समितिका सदस्य लड्न नपाउने व्यवस्था गरिएको छ । यही भदौ २९ गतेदेखि हुने निर्वाचनमा अध्यक्ष, महासचिव, कोषाध्यक्षसहित कुल ४२ पदका लागि निर्वाचन हुँदैछ ।

बयालिस केन्द्रीय कार्यसमितिमध्ये खुला १५, प्रत्येक प्रदेशमा दुई जनाका दरले १४, जनजाति तीन, दलित तीन, मधेसी तीन र मुस्लिम एक पदका लागि निर्वाचन हुनेछन् । यस्तै, एक उपाध्यक्ष, एक महासचिव र एक सचिवसहित ९ सदस्य मनोनीत गरिने व्यवस्था गरिएको छ ।

लामो समयपछि हुन लागेका निर्वाचनमा अध्यक्षका लागि अहिलेसम्म मीना पाण्डे, रुक्मिणी कोइराला, गोमा केसी, प्रतिमा गौतमलगायत चुनावी प्रतिस्पर्धामा उत्रने आकाङ्क्षा देखाउनुभएको छ ।

विसं २००७ को राणा शासनको अन्त्यका लागि भएका सङ्घर्षमा महिला सङ्घको ठूलो भूमिका रहेको छ । विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले दलहरुमाथि प्रतिबन्ध लगाएपछि महिला सङ्घ पनि प्रतिबन्धमा प¥यो । विसं २०४६ को आन्दोलनपछि राजनीतिक दलहरु फुकुवा भएपछि महिला सङ्घ पनि फुकुवा भयो ।

विसं २००४ मा स्थापना भएको सङ्घको पहिलो राष्ट्रिय अधिवेशन विसं २०५८ असोज १७ देखि १९ सम्म विराटनगरमा सम्पन्न भयो । पहिलो महाधिवेशनले अध्यक्षमा उमा रेग्मीसहित ३२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित गरेको थियो ।

दोस्रो केन्द्रीय महाधिवेशन २०६४ वैशाख २७ देखि २९ सम्म नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा सम्पन्न भयो र अध्यक्षमा अम्बिका बस्नेत निर्वाचित हुनुभएको थियो । महाधिवेशनले ३५ केन्द्रीय कार्यसमितिको पनि चयन गरेको थियो ।

दोस्रो महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचित बस्नेतको कार्यसमितिले तोकिएको समयमा अधिवेशन गर्न नसकेपछि २०६९ सालमा डा डिला सङ्ग्रौलाको अध्यक्षतामा ४५ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो । सङ्ग्रौलाकै कार्यसमितिले अहिले निर्वाचन गराउन लागेको हो ।
– अच्युत रेग्मी