४ बैशाख २०८१, मंगलवार
Follow Us

भ्रष्टाचारको अन्त्यमा जोड

sarusaru
९ असार २०७५, शनिबार ०३:१०

नेपालगञ्ज – नेपालमा जरोदेखि नै भ्रष्टाचार अन्त्य गर्ने हो भने कानूनी कारवाहीलाई कठोर बनाउनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले शुक्रबार यहाँ आयोजना गरेको सदाचारसम्बन्धी गोष्ठीका सहभागीहरुले राज्यले भ्रष्टाचार हुनै नदिने संरचनाको निर्माण गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण र नियमनकारी निकायको प्रभावकारिता बढाउँदै जानुपर्नेलगायतका सुझाव दिएका छन् ।

गोष्ठीमा ‘नेपालमा भ्रष्टाचार नियन्त्रणको प्रयास’ विषयमा केन्द्रका उपसचिव यमप्रसाद भुसालले कार्यपत्र र बाँकेका सेवाग्राहीको सेवाप्रदायक निकायसँगको अपेक्षा तथा सार्वजनिक निकायका पदाधिकारीहरुको सम्पत्ति विवरणको अवस्थासम्बन्धी जानकारीपत्र शाखा अधिकृत नारायण दाहालले प्रस्तुत गर्नुभएको थियो ।

त्यस अवसरमा बाँके जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलगायत वक्ताले कसैलाई सदाचारी बन् भनेरमात्र हुँदैन, त्यसको वातावरण निर्माण पनि गर्न जरुरी छ भन्नुभयो ।

गोष्ठीमा बाँके जिल्लाका सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, पत्रकारलगायतको सहभागिता थियो ।
रासस