८ बैशाख २०८१, शनिबार
Follow Us

देउवा असफल भए, सक्षम नेतृत्व ल्याउनुपर्छ : सुजाता कोइराला

नेपालब्रिटेन संवाददाता
९ असार २०७५, शनिबार १४:४९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भइसकेको बताइन । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सभापति देउवाकै कारण पार्टी कमजोर भएको आरोप लगाइन् । उनले अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिइन् । चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजिनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने उनको तर्क थियो ।

उनले भनिन्, ‘पद छोड्नै पर्छ भन्ने छैन्, पराजयको जिम्मेवारी लिएर नेता कार्यकर्तामा उत्साह थप्नुपर्छ, गिरिजाले पार्टी हार्दा जिम्मेवारी लिएर उत्साह थप्नुहुन्थ्यो, अहिलेको नेतृत्वले त्यसो गर्न सकेन ।’ पछिल्लो समय कांग्रेसको संगठन केन्द्रदेखि गाउँसम्म ध्वस्त भएको भन्दै कोइरालाले सक्षम र राम्रा मान्छेलाईभन्दा आफ्ना मान्छेलाई काखी च्याप्ने गरेको पनि गुनासो पोखिन् ।

‘गाउँ–गाउँमा सक्षम कार्यकर्ता छन्, सुतेर बसेकालाई जगाउन सक्ने हो भने कांग्रेस बलियो हुन्छ । फेरी जागेर आउँछ । जगाउन सक्ने नयाँ नेतृत्व चाहिन्छ ।’ कोइरालाले अघि भनिन्–‘पार्टीको तल्लो तहसम्मका नेता कार्यकर्ताको भावना बुझ्न सक्ने नेतृत्व चाहिन्छ । माथि बसेर लाद्ने नेतृत्वले पार्टीलाई असफल बनाउँछ ।’ अब महासमितिको बैठक बसेर कांग्रेसको आगामी यात्रा तय गर्नुपर्नेमा उनले जोड दिएकी छिन् । महासमितिको बैठकको भावनाअनुसार नेतृत्व चल्न तयार हुनुपर्नेमा उनले सचेत गराइन् । अहिले संसदमा प्रतिपक्षीको भूमिका पनि कांग्रेसले प्रभावकारी रुपमा निभाउन नसकेको कोइरालाको जिकिर थियो ।

पार्टीभित्रका सबै समस्या समाधान गर्न सक्ने सक्षम नेतृत्व अबको आवश्यकता रहेको उनको भनाई छ । महासमितिको बैठकपछि महाधिवेशनको यात्रा तय गर्नुपर्ने भन्दै उनले जसले विपीको सिद्धान्त अंगाल्न सक्छ उसैलाई नेतृत्वमा ल्याउनुपर्ने बताइन् । कोइराला परिवारभित्रबाटै अबको नेतृत्व खोज्न लाग्नु भएको हो त पत्रकारको प्रश्नमा उनले जोसुकै भएपनि कांग्रेसलाई जगाउन सक्ने व्यक्ति हुनुपर्ने तर्क गरिन् ।

‘‘सधैँ कोइराला परिवार रहँदैन, कोइराला हूँदैमा सबै राम्रो हुन्छ भन्ने छैन, कोइरालाहरु भगवान पनि होइनन्, तर विपिको सिद्धान्त लागु गर्न सक्ने व्यक्ति चाहिन्छ।”–उनले भनिन् । पार्टीको नीति, सिद्धान्त र विचाभन्दा बाहिर जान खोज्नेलाई नेतृत्व दिन नहुने उनको तर्क थियो । सबै एकजुट भएर पार्टी सुधारतर्फ केन्द्रित हुन सके उपलब्धि हाँसिल हुनेमा आफू विश्वस्त रहेको नेतृ कोइरालाले बताइन् ।