११ बैशाख २०८१, मंगलवार
Follow Us

महिलालाई इञ्जिनियरिड. शिक्षामा आकर्षित गर्न आवश्यक

नेपालब्रिटेन संवाददाता
९ असार २०७५, शनिबार १४:५२

पुल्चोक । नेपाली महिलाहरुलाई पनि इञ्जिनियरिड. शिक्षा र पेशामा आकर्षित गर्न विशेष जोड दिन अग्रणी महिला इञ्जिनियरहरुले सरोकारवालाहरुसंग आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय महिला इञ्जिनियर दिवसको अवसरमा नेपाल इञ्जिनियर्स एशोसिएनको महिला विभागको आयोजना संयुक्त राष्ट्रसंंघीय शैक्षिक,वैज्ञानिक तथा सांस्कृतिक संगठन(यूनेस्को) र ग्रामीण पहुँच कार्यक्रम(रुरल एक्सेस प्रोग्राम)को सहयोगमा भएको कार्यक्रमका वक्ताहरुले सो आग्रह गरेको हुन् ।

कार्यक्रममा नेपालकी पहिलो महिला इञ्जिनियर शान्ति मल्लले आफ्नो समयमा धेरै चुनौती सहदै इञ्जिनियरिड.शिक्षा लिएको र सेवामा रहदा समेत चुनौतीहरुको सामना गर्नुपरेको बताउदै अब देशभर शैक्षिक अवसर प्राप्त भएको र महिलाहरुको चेतनाको स्तर पनि उठेकोले महिलाहरुलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्न सजिलो हुने बताउनुभयो । उहाँले आफ्नो पालामा निजी खर्चमा इञ्जिनियर बन्ने कल्पना पनि गर्न नसकिने छात्रवृत्तिमा मात्रै पढन पाइने तर अहिले त्यस्तो अवसर पनि प्राप्त भएको त्यसलाई उपयोग गर्न अग्रसर हुन पनि आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपालका लागि बंगलादेशका राजदूत मस्फि बिन्ति शामले महिलाहरु पुरुषजत्तिकै जेहेन्दार, सक्षम र सबल भएकोले हिनभाव लिन नहुने बताउनुभयो । उहाँले आफूले कलेज जीवन र सेवाकालमा कहिल्यै पनि महिलाको विशेष सहुलियत नलिएको उल्लेख गर्दै महिलाहरु काम गर्न सक्षम भएको दावी गर्नुभयो । कार्यक्रममा इञ्जिनियर रेखा श्रेष्ठले पहिलो र दोस्रो विश्वयुद्धमा पुरुषहरु युद्धमा होमिएपछि इञ्जिनियरिड. क्षेत्रको काम गर्न महिला अग्रसर हुनुपरेको र त्यसले महिलाहरुलाई यो प्राविधिक शिक्षामा आकर्षित गरेको बताउनु भयो । उहाँले नेपालमा पनि इञ्जिनियरिड. शिक्षामा महिलाहरुको सहभागिता बढ्दै आएको बताउनुभयो ।

शनिवार नै नेपाल इञ्जिनियर्स एशोसियसनको कार्यालयमा आयोजित सामूहिक छलफलमा सहभागी महिला इञ्जिनियरहरुले महिलाहरुलाई यो पेशामा आकर्षित गर्न र समस्याहरु समाधान गर्दै संभावनाहरुलाई यथार्थमा परिणत गर्न सबल सञ्जाल निर्माण गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

कार्यक्रममा ई.सरिता मास्के र ई. प्रमिला बज्राचार्यले महिलाहरु घर र कार्यालय दुवैतिरको काममा गम्भीर हुनेहुँदा सार्वजनिक कार्यक्रममा अक्सर ननिस्कने भएकोले सूचना र सञ्चारको क्षेत्रमा आएको विकासको उपयोग गर्दै सञ्जाल निर्माण गरेर सामूहिक प्रयासले अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

अर्का वक्ता इञ्जिनियर रिमा लामिछानेले रोजगारी बाहेक उद्यमशीलताको क्षेत्रमा पनि महिला इञ्जिनियरहरु अगाडि बढेको बताउनुभयो ।

अर्का वक्ता प्रा. डा. सुधा श्रेष्ठले नेपालमा गुणस्तरीय इञ्जिनियरिड. शिक्षाको अवसर भएको र महिला शिक्षाको बारेमा चेतना बढ्दै गएकोले महिलाहरुलाई इञ्जिनियरिड.का विभिन्न विधामा आकर्षित गर्न महिलाहरु नै अग्रसर हुनुपर्ने बताउनुभयो ।उहाँले महिलाहरु योजना तर्जुमा, स्थलगत सर्वेक्षण, डिजाइन र निर्माण सबै कामको जिम्मा लिन सक्ने बताउदै महिलाहरुले डिजाइन गरेका भवनहरु पुरुषहरुको भन्दा फरक र महिला मैत्रीपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा युवा महिला इञ्जिनियर प्रतिमा प्रधानले युवा पुस्ता भविष्यका संभावना र चुनौतिले आकर्षित हुने हुनाले अग्रजहरुले त्यसलाई उजागर गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले महिला इञ्जिनियरहरु पुरुषहरुको तुलनामा कतैपनि कमजोर नरहेको दावी गर्नुभयो ।

अर्का वक्ता इञ्जिनियर मन्दिरा श्रेष्ठले सरकारी सेवा र गैरसरकारी सेवामा पनि महिला इञ्जिनियरहरुको सहभागिता बढ्दै गएकोमा सन्तोष व्यक्त गर्नुभयो । उहाँले अमेरिकामा समेत विज्ञान,प्रविधि,इञ्जिनियरिड. र गणितमा जम्मा १९ प्रतिशत महिलाको सहभागिता देखिएको परिप्रेक्षमा नेपालको १४देखि १५ प्रतिशतको सहभागिता नराम्रो भन्न नमिल्ने बताउदै परिवर्तनको सुरुआत घरबाट गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा यूनिसेफकी अलिना ताम्राकारले भूकम्पपछिको पुनर्निमार्ण कार्यमा इञ्जिनियरहरुको अभाव खड्किएको र विश्व सम्पदा सूची सहित धार्मिक, सांस्कृतिक र ऐनिहासिक सम्पदाहरुको पुननिर्माणमा महिला इञ्जिनियरहरुको अभाव देखिएको बताउनुभयो । उहाँले महिला इञ्जिनियरहरुको सामिप्यताले महिलाहरुलाई सान्त्वना र विश्वास दिलाउन सजिलो हुने पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल इञ्जिनियर्स एशोसियसनका अध्यक्ष ई.हरेराम श्रेष्ठले अन्तराष्टि य महिला इञ्जिनियर्स दिवस बेलायतबाट २०१४ देखि मनाउन थालिएको बताउदै नेपालले पनि गतबर्षदेखि मनाउन थालेको उल्लेख गर्नुभयो । उहाँले नेपाल इञ्जिनियरिड. परिषदमा दर्ता भएका ४३ हजार इञ्जिनियर मध्ये ६ हजार महिला इञ्जिनियर रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाली महिला इञ्जिनियरहरुको फोटोकथा प्रदशनी पनि गरिएको थियो । सो प्रदर्शनीको नेपालकी पहिलो महिला इञ्जिनियर शान्ति मल्लले उद्घाटन गर्नुभएको थियो ।