१२ बैशाख २०८१, बुधबार
Follow Us

१४ बुँदे सम्झौता ऐतिहासिक उपलब्धि : प्रम ओली

नेपालब्रिटेन संवाददाता
१० असार २०७५, आईतवार १५:०५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक चीन भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरे । स्वदेश फिर्तापछि विमानस्थलमै पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीले भ्रमण निकै उपलब्धिमूलक र ऐतिहासिक भएको दाबी गरे ।

उनले चीनसँग भएको १४ बुँदे सम्झौताले धेरै विषय प्रस्ट पारिसकेको भन्दै नेपालको विकासमा चीनले पूर्णसहयोग गर्ने आश्वासन दिएको बताए । उनले सबै छिमेकीसँग सुमधुर सम्बन्ध विस्तार गर्न सरकार क्रियाशील हुने र सबैसँग समान व्यवहार गर्ने स्पस्ट पारे । प्रधानमन्त्रीसँग स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमण सोचेभन्दा बढी नै उपलब्धिमूलक भएको दाबी गरे ।

उनले रेलवे विस्तारका विषयमा सबैभन्दा महत्वपूर्ण सहमति भएको भन्दै यसले नेपालको विकासमा नयाँ फड्को मार्ने बताए । मन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि चाँडै नेपाल भ्रमण गर्ने बताए । मन्त्री ज्ञवालीले चीनसँग भएको सहमति र सम्झौताले दुई देशबीचको सम्बन्ध उच्चस्तरको भएको पुष्टि भएको दाबी पनि गरे ।

भ्रमणकाक्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, चिनियाँ समकक्षी ली खछ्याङलगायतसँग भेटवार्ता गरेका थिए । चीन भ्रमणकाक्रममा दुई देशबीच १४ बुँदे सम्झौता भएको थियो । प्रधानमन्त्री ओलीले तिनै सम्झौतालाई आफ्नो भ्रमणको उपलब्धि मानेका हुन् ।

प्रधानमन्त्री ओलीको भ्रमणकाक्रममा केरुङ–काठमाडौं रेलवेसम्बन्धी परियोजना, दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, दुई देशबीचको सम्बन्ध बलियो बनाउने सम्झौता, कार्गो सन्चालनमा तिब्बतको राजमार्ग प्रयोग, रसुवागढीमा पुल निर्माण, मितेरी पुल निर्माण, ऊर्जा सहकार्य गर्ने विषयमा सहमति, उत्पादनमा लगानी तथा सहकार्य, मानवस्रोत सहकार्य, आर्थिक र प्राविधिक सहकार्यसम्बन्धी सम्झौता भएका थिए ।

प्रधानमन्त्री ओली यही असार ५ गते औपचारिक भ्रमणकाक्रममा चीन गएका थिए ।