४ बैशाख २०८१, मंगलवार
Follow Us

एसइई नतिजामा त्रुटि

sarusaru
११ असार २०७५, सोमबार ०३:४१

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ। परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले शनिबार प्रकाशित गरेको नजितामा आइतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ। पनिकाले तोकेका वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिबार प्राप्त गरेको जिपिए आइतबार बढेको हो।

जिपिए बढेपछि विद्यार्थी, अभिभावक रशिक्षक अन्योलमा परेका छन्। कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए ग्रेड मात्रै देखायो । विषयगत रूपमा ए प्लस आउनुपर्नेमा ए मात्र आउनाले समग्र जिपिए घटेको थियो।

मोक्षदा स्कुलकी ०३११०३२टी सिम्बोल नम्बरकी सुनिता रोकाको शनिबार एसएमएस गर्दा जिपिए ३.८५ आएको थियो । उनले आइतबार उही सिम्बोल नम्बरमा एसएमएस गर्दा जिपिए ३.९० आएको छ । ‘हिजो र आजको जिपिए फरक आयो, कुनलाई आधिकारिक मान्ने अन्योल भयो,’ रोकाले भनिन् ।

अधिकांशको जिपिए बढ्यो

आइतबार प्रायः विद्यार्थीको जिपिए बढेको छ । सुकेधारास्थित बागमती बोर्डिङ माध्यमिक विद्यालयका प्रिन्सिपल श्यामदत्त अधिकारीले आफ्नो विद्यालयका लगभग सबै विद्यार्थीको जिपिए बढेको बताए । ‘केही साँच्चै राम्रा विद्यार्थीको अप्रत्याशित नतिजाले हामी आश्चर्यमा परेका थियौँ । शनिबार जिपिए ३.८ आउनेको आइतबार ३.९ आएको छ,’ उनले भने । जिम्मेवार निकायबाट धेरै लापरबाही हुँदा विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर परेको उनले बताए । ‘पनिकाजस्तो जिम्मेवार निकायको विश्वसनीयतामा प्रश्न उठ्यो । पूर्ण तयारी नगरी हतारहतारमा नतिजा प्रकाशन गर्नुभन्दा केही ढिला गरेको भए बेस हुन्थ्यो,’उनले भने ।
नयाँ पत्रिका दैनिक