१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालमा सट्टेबाजीको साम्राज्य चलाइरहेका नागराज पक्राउ

sarusaru
११ असार २०७५, सोमबार ०३:५५

काठमाडौं । भारतीय प्रहरीको समेत मोस्ट वान्टेड सूचीमा रहेका चर्चित सट्टेबाज अमृत अग्रवालउर्फ नागराज पक्राउ परेका छन् ।

नेपालमा डेढ वर्षयता प्रहरीका विभिन्न युनिटहरुको खोजी सूचीमा रहेका अग्रवाललाई अपराध महाशाखाको विशेष टोलीले शनिबार नियन्त्रणमा लिन सफल भएको हो । प्रहरीले उनको साथबाट नगद ४ लाख ८० हजार रुपैयाँसहित ल्यापटप र अन्य कागजपत्रहरु समेत बरामद गरेको छ ।

भारतको गोवालाई आफ्नो आधार क्षेत्र बनाएर नेपालमा सट्टेबाजीको साम्राज्य चलाइरहेका अग्रवाल ४ दिनअघि नेपाल प्रवेश गरेका थिए । शनिबार पानीपोखरीबाट उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसअघि सन् २०१७ मा इण्डियन प्रिमियर लिग (आईपीएल) खेल चलिरहेका वेला पनि नागराज काठमाडौंमा देखिएका थिए । त्यसवेला प्रहरीले खोजीलाई व्यापक बनाएको थियो तर, उनी भाग्न सफल भएका थिए ।

अहिले विश्वकप फुटबल प्रतियोगिता चलिरहेका वेला भारतीय प्रहरीले सट्टेबाजहरुको खोजीलाई तीव्र बनाएको थियो । ‘भारतमा भन्दा नेपालमा सुरक्षित हुन सकिने भएकाले ऊ यहाँ आएको हुन सक्छ’, अपराध महाशाखा स्रोत भन्छ, ‘ऊ काठमाडौं आउनु पछाडिका अन्य कारणहरुबारे खोजी गरेका छौंं ।’

अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहका अनुसार महाशाखामा अग्रवालविरुद्ध आईपीएल क्रिकेटको सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुने भन्दै दुई करोड ४० लाख रुपैयाँ उठाएर फरार भएको उजुरी पनि परेको थियो ।

‘ठगिएको भन्दै ५/७ जनाले उजुरी दिएपछि निगरानी बढाएका थियौं’, सिंहले भने, ‘त्यस क्रममा उनलाई पक्राउ गर्न सफल भएका छौं ।’

उनका अनुसार जिल्ला अदालत,काठमाडौंबाट ठगी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

महाशाखा स्रोतका अनुसार त्यसरी ठगिनेहरु मध्ये कतिपयले आईएमई र कतिले अग्रवालको नेपालीस्थित एजेन्टमार्फत उनलाई रकम बुझाएका थिए ।

जुवाडेदेखि डि-कम्पनीको एजेन्टसम्म

क्रिकेट र फुटबलको अन्तर्राष्ट्रिय खेलहरुमा हुने जित-हार, रन, विकेट, गोल लगायतका आधारमा अनलाइन जुवा (बेटिङ) को धन्दा चलाइरहेका ४४ वर्षीय अमृतको स्थायी ठेगाना धनुषाको जनकपुर नगरपालिका वडा नं. ३ हो । यसअघि उनी भारतीय नागरिक आशंका गरिँदै आएको थियो ।

‘अपराधिक सञ्जालमा नागराज उपनामले चिनिने उनले आफ्नो पूरा परिचय र ठेगाना लुकाउने गरेका थिए’ अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘त्यसैले उनी भारतीय भएको आशंका गरिने गरिएको थियो ।’

‘भारतको गोवामा बसेरै लामो समयदेखि उनले नेपालमा अनलाइन सट्टेबाजको धन्दा चलाइरहेका थिए’ प्रहरी अधिकारीले भने, ‘त्यहाँ उनी कसरी बसेका थिए ? भन्ने विषयतर्फ पनि खोजी बढाएका थियौं ।’

नागराजको गतिविधिलाई केही वर्षयता नियालिरहेका नेपाल प्रहरीका एक अधिकारीका अनुसार उनी १२ वर्षअघिसम्म सामान्य जुवाडे थिए । ‘उनले सामान्य जुवाडे हुँदै क्यासिनोमा पहुँच विस्तार गरे । क्यासिनोमा पहिले जुवा खेल्ने र पछि खेलाउने काम समेत गरे’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘क्यासिनोमा जुवा खेलाउने क्रममा उनले भारतीयबाट अनलाइन सट्टेबाजीको बारेमा ज्ञान लिएका थिए ।’

उनीहरुबाट सट्टेबाजी सिकेर नागराजले नेपालमा पनि बेटिङ धन्दा प्रवेश गराएका थिए । जसले अहिले गम्भीर रुप लिएको छ ।

हाल नेपालका चिकित्सक, व्यापारीदेखि लिएर चर्चित अभिनेतासम्म अनलाइन बेटिङमा संलग्न हुने गरेको अनुसन्धानबाट खुलेको छ ।

अनलाइन बेटिङको धन्दा बढाउँदै लाने क्रममा अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग समेत पहुँच विस्तार गरेका थिए । दाउद कि्रकेट र फुटबलका प्रतियोगिताको आधारमा खेलाइने जुवाको जन्मदाता नै मानिन्छन् ।

उनको समूह डि-कम्पनीमा नागराजले आफ्नो पहुँच विस्तार गरेपछि उनले अन्तर्राष्ट्रिय स्तरमै आफ्नो धन्दालाई बढाएका थिए । प्रहरी स्रोतका अनुसार उनको नेपालमा मात्रै ५ सय बढी एजेन्ट सक्रिय छन् ।

एक महिनादेखि बढेको थियो प्रहरी सक्रियता

यसअघि १५ जेठमा काठमाडौं प्रहरी परिसरले इन्डियन पि्रमियर लिग -आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको थियो ।

फुटबलको म्याच फिक्सिङ प्रकरणमा त्यसअघि पनि मुछिइसकेका केसीसहित अनलाइन बेटिङका छुट्टै समूह चलाइरहेका गौरव तिवारी, उनका सहयोगीहरु दिनेश बोगटी, नरेन्द्र सुवाल र विजय श्रेष्ठ पक्राउ परेका थिए ।

त्यसवेला काठमाडौं प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले समूहका मूख्य नाइके तिवारी भएको बताएका थिए । तिवारी सुन्धारास्थित सिभिल मलमा रहेको टुवेल डी सिनेमाका सञ्चालक समेत हुन् । पोखरेलका अनुसार पहिले नागराजकै समूहमा रहेर तिवारीले बेटिङको धन्दा चलाउँदै आएका थिए । तर, लेनदेनको विषयमा विवाद भएपछि उनले आफ्नो छुट्टै समूह खडा गरे ।

यो घटनापछि काठमाडौं प्रहरीले नागराजको खोजीलाई व्यापक बनाएको थियो । साथै, आईपीएल र विश्वकप खेलको आसपासमा उनले बेटिङको धन्दालाई बढावा दिन सक्ने आशंकामा निगरानी भइरहेको थियो ।

फितलो कानुन

यसअघि पक्राउ परेका ५ जना सट्टेबाजलाई जुवा ऐन अन्तरगत मुद्दा चलाइएको थियो । तर, करोडौंको जुवा खेलाउने उनीहरु जिल्ला अदालत, काठमाडौंबाट दुई सय रुपैयाँ जरिवाना तिरेर छुटेका छन् । ‘फितलो कानुनले उनीहरु सहजै छुट्ने गरेका छन्’, एक अधिकारीले चिन्ता व्यक्त गरे, ‘यसरी सहजै छुटेपछि फेरि भोलिदेखि नै उनीहरु सोही प्रकारको काममा संलग्न हुने खतरा हुन्छ ।’

यसपटक भने महाशाखाले नागराजविरुद्ध ठगी मुद्दा चलाएको छ । जसमा उनको कसुर प्रमाणित भए मुलुकी ऐनको ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र विगो भराइ विगो बमोजिम जरिवाना हुने व्यवस्था छ ।

साथै, उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा समेत चलाउने तयारी रहेको अपराध महाशाखा स्रोत बताउँछ ।
अनलाइन खबर