८ बैशाख २०८१, शनिबार
Follow Us

मेलम्चीको पानी आउने आशा जिवितै

नेपालब्रिटेन संवाददाता
११ असार २०७५, सोमबार ०५:५५

काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी दशैं अगाडि नै मेलम्चीको पानी काठमाडौं ल्याउन सहमत भएको छ । त्यसको बदलामा सरकारले ठेकेदार कम्पनीको म्याद तीन महिना थपिदिएको छ ।

इटालीको निर्माण व्यवसायी कम्पनी सीएमसीले सन् २०१३ देखि मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएर काम सुरु गरेको थियो । ठेक्काको म्याद यही जुन १४ तारिख अर्थात् जेठ ३१ मा सकिएको थियो । तर, गएको शुक्रबार सीएमसी र खानेपानी मन्त्रालयबीच तीन महिना म्याद थप्ने र त्यो अवधिभित्रै काठमाडौंमा पानी ल्याउने सहमति भएको हो । त्यसको विस्तृत जानकारी दिन आज सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

यसअघि ठेकेदारले कम्पनीले काममा ढिलासुस्ती गरेपछि मन्त्रालयले इटालीस्थित केन्द्रीय कार्यालयमा पत्र लेखेर उच्चस्तरीय टोली नेपाल पठाइदिएर अनुगमन गर्न र छिटो काम सक्न भनेको थियो । सोही पत्रको आधारमा कम्पनीको बोर्ड डाइरेक्टरसहित दुई जना सदस्य नेपाल आएका थिए । उनीहरुले साइट अवलोकन गरेपछि ‘पुरानै डेटलाइनमा (दशैं अगाडि) पानी ल्याउन लिखित सहमति जनाएका’ खानेपानी मन्त्री बिना मगरले बताउनु भयो ।

ठेकेदार कम्पनी सीएमसीले भूकम्पका कारण बढी समय काम गर्नुपरेको र लागत पनि बढेको भन्दै १ अर्ब ६५ करोड क्षतिपूर्ति र थप ५७० दिन म्याद थप्नुपर्ने दावी गरेको थियो । ठेकेदारको यो दावीमा डिस्प्यूट बोर्ड (डीबी) मेलम्ची खानेपानी आयोजना र ठेकेदारबीच आउने विवाद टुंग्याउन गठित समिति) मा गत ३० जेठमा छलफल भएको थियो ।
सो बोर्डले २१२ दिन म्याद थप्न उपयुक्त हुने प्रारम्भिक राय सुनाएको थियो । त्यसको पूर्ण फैसला भने आउन बाँकी छ ।