११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्रीको भारत भ्रमणअघि राजदूत नियुक्ति नहुने

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७३, बुधबार ०७:३८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणअघि भारतका लागि राजदूत नियुक्ति नहुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबारको बैठकले भारत र चीनका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र लीलामणि पौडेलविरुद्ध उजुरी दिन दस दिनको समय निर्धारण गरेसँगै प्रधानमन्त्रीको भारत भ्रमण अघि उपाध्यायको नियुक्ति नहुने निश्चित भएको हो ।
प्रधानमन्त्री दाहाल भदौ ३० गते भारत जाँदैछन् । भदौं १६ गतेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई भारत र पौडेललाई चीनको राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । सुनुवाई समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भारतको राजदूतमा उपाध्यायको नाम सिफारिस गरिएकोप्रति आपत्ति जनाएको छ ।
एमाले सांसद भानुभक्त ढकालले पदीय मर्यादा विपरित काम गरेको भन्दै अघिल्लो सरकारले फिर्ता बोलाएका उपाध्यायलाई पुनः भारतको राजदूतमा सिफारिस गरिनु मुलुकको हित विपरित रहेको र यसले कुटनीतिक समुदायमा नकारात्मक सन्देश जाने जिकीर गरेका थिए । तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसद्ले भने विश्वासयोग्य व्यक्तिलाई सरकारले राजदूतका रुपमा पठाउने भन्दै अघिल्लो सरकारले फिर्ता बोलाएको प्रसंग निकालेर किचलो नगर्न आग्रह गरेका थिए ।