२६ बैशाख २०८१, बुधबार
Follow Us

आज निजामति सेवा दिवस

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७३, बुधबार ०७:५५

काठमाडौं । निजामति सेवा दिवस कर्मचारीले आज राजधानीसहित मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछन् । दिवसको यो वर्षको नारा ‘निजामति सेवाको मान्यता, अनुशासन र इमान्दारिता र नैतीकता’ भन्ने तय गरिएको छ । नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा दिवस मनाउन थालिएको हो । विक्रम सम्वत् दुई हजार तेह् साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो । अहिले नेपालमा ७५ हजार निजामती कर्मचारी कार्यरत छन् । निजामति कर्मचारी दिवसका अवसरमा राजधानीमा कर्मचारीले बिहान पदयात्रा गरेका छन् । दिवसको अवसर पारेर सामान्य प्रशासन मन्त्रालयले १० जनालाई उत्कृष्ट निजामति सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कार प्रदान गर्दैछ । यस्तै ३७ जना पूर्वकर्मचारीलाई दिवसको अवसर पारेर सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।।

निजामति पुरस्कार
यस वर्षको ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ अर्थ सचिव शान्तराज सुवेदीलाई दिइने भएको छ । मुख्य सचिव डाक्टर सोमलाल सुवेदीको संयोजकत्वका गठित पाँच सदस्यीय पुरस्कार छनौट समितिले तात्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुवेदीलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दिने निर्णय गरेको हो । सुवेदी केही दिन अघिमात्र अर्थमा सरुवा भएका हुन् । पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ । यसैगरी यस वर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई दिइने भएको छ । समितिले सिफारिस गरेअनुसार पुरस्कार पाउनेमा सहन्यायधिवक्ता किरण पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव देवेन्द्र कार्की , मुख्य मनोविज्ञान वेत्ता खगेन्द्रप्रसाद सुवेदी र लोक सेवा आयोगका सहसचिव गजेन्द्रबहादुर श्रेष्ठ छन् । यसैगरी गृहमन्त्रालयका उपसचिव प्रदीपराज कँडेल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव हुमबहादुर केसी, महालेखा परीक्षकको कार्यालयका निर्देशक माधवप्रसाद लामिछाने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव हरिबाबु पोखरेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव गोकुल बस्नेत र खानेपानी तथा सरसफाइ कार्यालय बझाङका इन्जिनियर कृष्णवहादुर बोगटी पनि पुरस्कृत हुने भएका छन् । पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ । यसैगरी निजामती सेवा पुरस्कार ३० जना निजामती कर्मचारीलाई दिइने भएको छ । उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । तीनवटै पुरस्कार आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वितरण गर्ने कार्यक्रम रहेको छ ।