८ बैशाख २०८१, शनिबार
Follow Us

अर्जेन्टिनाको भाग्य परिक्षा आज

नेपालब्रिटेन संवाददाता
१२ असार २०७५, मंगलवार ०६:३२

काठमाडौं । विश्वकप फुटबलमा मंगलबार पनि चार खेल हुँदैछन् । समूह सी का अन्तिम दुई खेल बेलुकी ७:४५ बजे हुनेछन् । यो समयमा अष्ट्रेलिया र पेरु तथा फ्रान्स र डेनमार्क भिड्दै छन् । लगातार दुई जितसहित फ्रान्स राउन्ड अफ सिक्सटिनमा पुगिसकेको छ भने ४ अंकको डेनमार्क र १ अंकको अष्ट्रेलियामध्ये एक टिम राउन्ड अफ सिक्सटिनमा पुग्नेछ ।

डेनमार्कको ४ अंक भए पनि प्रतिद्धन्द्धी फर्ममा रहेको फ्रान्स भएकाले जित कठिन छ । यो अवस्थामा अष्ट्रेलियाले बढी गोल अन्तरमा पेरुलाई हराउने हो भने राउन्ड अफ सिक्सटिनमा पुग्ने अवसर पाउने छ ।

त्यस्तै राति ११:४५ बजे समूह डी का अन्तिम दुई खेल हुँदैछन् । खेलमा आइसल्याण्ड र क्रोएसिया तथा नाइजेरिया र अर्जेन्टिना भिड्ने छन् । यो समूहबाट लगातार दुई जितसहित क्रोएसिया राउन्ड अफ सिक्सटिनमा पुगिसकेको छ भने नाइजेरियाको ३ तथा आइसल्याण्ड र अर्जेन्टिनाको समान १–१ अंक छ ।

राउन्ड अफ सिक्सटिनमा पुग्ने अर्को टिमको दावेदारी खुल्ला छ । नाइजेरियाले अर्जेन्टिनालाई हराउन सक्यो भने राउन्ड अफ सिक्सटिनमा पुग्नेछ । तर नाइजेरियालाई अर्जेन्टिनाले हरायो भने अर्को खेलको नतिजा पनि हेर्नुपर्ने हुन्छ । अर्को खेलमा क्रोएसियाको जित वा बराबरीले अर्जेन्टिना राउन्ड अफ सिक्सटिनमा पुग्नेछ ।

तर आइसल्याण्ड विजयी भयो भने गोल अन्तरमा अर्जेन्टिनाले अगाडि भएमात्र राउन्ड अफ सिक्सटिनमा पुग्नेछ । आइसल्याण्डको माइनस २ तथा अर्जेन्टिनाको माइनस ३ गोल अन्तर रहेको छ । दुई पटकको विजेता अर्जेन्टिनाले राउन्ड अफ सिक्सटिनमा पुग्न निकै संघर्ष गरेर मात्र पुग्ने छैन भाग्यले पनि साथ दिनुपर्नेछ ।
– सञ्जीव अधिकारी