१५ चैत्र २०८०, बिहीबार
Follow Us

अमेरिकी क्षेत्रीय सम्मेलनमा यसरी तुहियो भिजन–२०२०

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७३, बुधबार ०८:३३

(समाचार टिप्पणी) न्युयोर्क । भिजन–२०२० एण्ड वियोण्ड भन्ने नारासहित गैरआवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलन अमेरिकाको न्युजर्सीमा हालै सम्पन्न भयो । गैरआवासीय नेपाली संघका ७४ वटै राष्ट्रिय समिति (एनसीसी) को प्रतिनिधित्व अपेक्षा गरिएको थियो । तर, २४ वटा एनसीसीले मात्र सहभागिता जनाए । गैरआवासीय नेपाली संघको पछिल्ला क्षेत्रीय सम्मेलनको तुलनामा यो उपस्थिति सबैभन्दा न्यून उपस्थिति हो ।

बहुचर्चित भिजन–२०२० को खाका प्रस्तुत हुने भनिएको सम्मेलनलाई धेरै एनसीसीले महत्व दिएनन् । नयाँ भिजनसहित आगामी दिनमा संघ आगाडि बढ्नेमा सम्मेलन आयोजक ढुक्क देखिएका थिए । विशेषतः संघका अध्यक्ष शेष घले पक्षले यो सम्मेलनलाई प्रतिष्ठाको बिषय बनाएको थियो । यद्यपी भिजन–२०२० को अवधारण के हो भन्ने कुरा सम्मेलनमा सहभागीले पहिलो पटक सुन्न पाए । सम्मेलनको उद्घाटन सत्रपछि अध्यक्ष घलेले गैरआवासीय नेपाली संघलाई नयाँ उचाइँमा लैजान आवश्यक रहेको बताए ।

उनले संगठन पुनसंर्रचनाको तर्क प्रस्तुत गरेका थिए । अहिले संघको सचिवालय निकै कमजोर रहेकाले सचिवालयलाई अझ सशक्त र साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा उनले जोड दिए । अध्यक्ष घलेले संघभित्रका मुद्दामा आगामी दिनमा कसरी अगाडी बढाउने भन्ने बिषयलाई बेवास्ता गर्दै संघ पुनर्सरचनाका लागि २ वटा अवधारणा प्रस्तुत गरेका थिए । अर्को कुरा संघको विषयमा अवधारणा बनाउन कन्सल्ट्यान्ट हायर गरेर गैरआवासिय नेपाली विद्धानहरुको खिल्ली उडाएको भन्दै आक्रोस पोखिएको थियो । मुलतः संघभित्रको अहिलेको प्रेसिन्डिन्टल (कार्यसमिति) सिस्टमको सट्टा कार्यकारिणी (सुपरिम पावरसहित) र म्यानेरिजियल (ब्यवस्थापन) दुई प्रकारको संरचना हुनुपर्नेमा अवधारण राखेका थिए ।

उनले राखेको अवधारणलाई अगाडि बढाउन छुट्टै ५ सदस्यीय बिशेष समितिसमेत प्रस्ताव गरिएको थियो । त्यस्तो समिति गठन गर्न संघको विधानमा कहीकतै उल्लेख छैनन् । घलेले संघभित्र अहिले विद्यमान उपसमितिहरु पोलिसी एण्ड प्रोसिडर, विधान संशोधन, कार्यसमितिलगायतका समितिमार्फत आफ्ले चाहेजस्तो निर्णय हुन नसक्ने देखेपछि विधान विपरित छुट्टै समितिको प्रस्ताव गरेका हुन भन्ने कुरा बुझ्न सजिलै सकिन्थ्यो । अध्यक्ष घलेले भिजन– २०२० को अवधारण हलमा प्रस्तुत गरिरहदाँ हलमा एक चौथाई प्रतिनिधि मात्र उपस्थित थिए ।

घलेको नयाँ अवधारणलाई धेरैले त्यसैबेला कम्पनी र आइएनजीओ मोडल भनेर आलोचना गरेका थिए । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले छलफलकै क्रममा गैरआवासीय नेपाली संघ एक विशिष्ट प्रकारको संस्था भएकाले कुनै रेडक्रस, रोटरी वा युएनजस्ता संस्थाको मोडलमा चल्न नसक्ने स्पष्ट मात्र पारेनन, संघको आन्तरिक संरचना तत्काल परिवर्तन नहुने जनाउ पनि दिए ।

उनले सामाजिक संघसंस्था विधिविधानले भन्दा भावनाले चल्ने अभिब्यक्ति दिएका थिए । संस्थापक अध्यक्ष डा. महतोको भनाइलाई अध्यक्ष घलेले एक अनलाइनलाई अन्तर्वार्तामार्फत् तत्कलै जवाफ फर्काउँदै संघ भावनाले मात्र चल्न सक्दैन भन्दै कटाक्ष गरेका थिए । सम्मेलन चलिरहेको बेला वाहालवाल अध्यक्षले संस्थापक अध्यक्षप्रति सार्वजानिक मिडियामार्फत् कटाक्ष गर्नुलाई धेरैले संघको मर्यादा र परम्परा विपरित भएको टिप्पणी मात्र गरेनन घलेको बचपन भन्दै टिप्पणी पनि गरे । घलेले सुजित शाक्य नाम गरेका एक व्यक्तिलाई ५ लाख रुपैयाँ खर्चिर प्रस्तुत गरेको भिजन– २०२० भित्र गैरआवासीय नेपाल संघका मुद्दाभन्दा संरचना केन्द्रित हुदाँ उनको प्रस्तुति फितालो बन्न पुगेको धेरैले महसुस गरेका थिए । शाक्यद्वारा प्रस्तुत तथ्यांकसमेत हचुवा भएको टिप्पणी भएको थियो ।

उनले गैरआवासीय नेपाली अभियानमा सुरु हुदाँको दिनमा विदेशमा गैरआवासीय नेपालीहरुको संख्या ५ लाख मात्र रहेको तथ्यांक प्रस्तुत गर्दा केही संस्थापक नेताले आलोचना गरेका थिए । शाक्यले गैरआवासीय नेपाली संघभित्र र बाहिरहेका विज्ञसँग छलफल गरेर तयार पारेको भिजन– २०२० को खाकाबारे संघका संस्थापक अध्यक्षसहित केही पनि जानकार थिएनन् ।

संस्थापक अध्यक्ष डा महतोले समृद्ध नेपालको लागि गैरआवासीय नेपाली संघका आगामी कार्यक्रम सम्मलेनमा आउने अपेक्षा गरिएको भएता पनि संस्थाको संरचना परिवर्तनमा केन्द्रीत भएको भन्दै खुलेर आलोचना गरेका थिए । उनले सचिवालयलाई बलियो बनाउनका लागि भिजन–२०२० को नारा आवश्यक नभएको तर्क राखेका थिए । सम्मेलनमा सहभागिहरुले भिजन–२०२० को अवधारणामा नयाँ कुरा नआएको भन्दै आलोचना भएपछि यसलाई संघको पुनसंरचनाको सुरुवात भएको बताएका थिए ।
त्रुटिपूर्ण घोषणापत्र
14068306_1528775243814757_2418979024034386164_n मुलतः सम्मेलनमा सहभागी प्रतिनिधिले उठाएका बिषय वस्तुलाई लिपिबद्ध गरेर घोषणापत्र तयार पर्ने प्रचलन हुन्छ । गैरआवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनको लागि घोषणपत्र ड्रफ्ट गर्ने समितिसमेत थिएन् । सम्मेलन अवधिमा छलफलमा उठेका विषय वस्तुलाई रकर्ड राख्ने वा लिपिवद्ध गर्ने कुनै संरचना थिएन । सम्मेलनको अन्त्यमा घोषणा गरिएको ११ बुँदे घोषणापत्र सरकार समक्ष आन्दोलनकारी राख्ने मागपत्र जस्तो तयार पारिएको एक सहभागीले टिप्पणी गरे ।

घोषणपत्रको बुँदा नम्बर २ मा भूकम्प पीडितका लागि गैरआवासीय नेपाली संघले निर्माणका लागि प्राविधिक कार्य अगाडि बढाइसकेको उल्लेख गर्दै सरकारी पक्षबाट गरिदिनुपर्ने कार्य तत्काल पूरा गरिदिन आग्रह गरिएको छ । तर सरकारको तर्फबाट के नगरिएको भन्ने खुलाइएको छैन ।

घोषणपत्रका अधिकांश बुँदामा आग्रह गर्दछ, अनुरोध गर्दछ, माग गर्दछ, ब्यक्त गर्दछ जस्ता वाक्यांश उल्लेख गरिएको छ । अध्यक्ष घले समूहले बुँदा नम्बर ४ लाई प्रतिष्ठाको बिषय बनाएको थियो । सो बँुदामा गैरआवासीय नेपाली संघलाई नेपालको आर्थिक तथा सामाजिक विकासको साझेदार बनाउने संघको सातौ विश्व सम्मेलनको घोषणापत्रको बुँदा नम्बर दुईको निर्णयलाई कार्यान्वयन गर्न यो सम्मेलनमा ‘भिजन– २०२० एण्ड बियोण्ड’ अवधारणा प्रस्तुत गरियो । बुदा नम्बर २ भुकम्प पीडितका लागि बनाउन लागिएको १ हजार घरसँग सम्बन्धित बुँदालाई भिजन– २०२० एण्ड बियोण्डसँग जोडिएको छ । यी बुँदै मुद्दाहरु फरक–फरक अवधारण अनुरुप अघि सारिएका एजेन्डा हुन् ।

घले पक्षले भुकम्प पीडितका लागि घर निर्माणका लागि समेत भिजन– २०२० आवश्यक रहेको सन्देश दिन खोजेको छ । बुँदा नम्बर ४ मा प्रस्तुत अवधारणामाथि भएको छलफलका क्रममा प्राप्त भएका र पछि प्राप्त हुने सुझावलाई समेट्दै यो अवधारणा अगाडि बढाउन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) लाई जिम्मा दिने यो सम्मेलन निर्णय गर्दछ भन्ने उल्लेख छ । यो बँुदामा मात्र निर्णय गर्दछ भन्ने शब्दवाली प्रयोग गर्नुलाई घले पक्षले सम्मेलनले आफ्नो भिजन– २०२० एण्ड बियोण्डको प्रस्तावलाई सम्मेलनले अनुमोदन गरी पारित गरेको अर्थ लगाएको छ । गैरआवासीय नेपाली संघका कुनै पनि सम्मेलनलाई वैधानिक निर्णय गर्ने अधिकार विधानले नदिएको जानकारहरु बताउँछन् । सम्मेलनले संघको सल्लाहकारको भूमिका मात्र निर्वाह गर्न सक्छन् भन्ने विधानमा प्रष्टै उल्लेख छ ।

मिडियाप्रति अनुदार एनआरएन
media गैरआवासीय नेपाली संघको अभियानलाई नेपाली सञ्चारमाध्यमहरुले स्थापनका कालदेखि साथ दिइरहेका छन् । संघको स्थापनाकालदेखि नेपाल पत्रकार महासंघ र सेजेन (आर्थिक पत्रकार मञ्च) ले एकअर्काप्रति साँझेदारी गर्दै आएको तथ्य जगजाहेर छ । घलेले संघको नेतृत्व लिएपछि नेपालका मूलधारका संचारमाध्यमहरु टाढिदैं गएको आभाश नवौ क्षेत्रीय सम्मेलनमा समेत प्रष्ट देखियो । गैरआवासीय नेपाली संघको नवौं सम्मेलनमा पहिलो पटक नेपाल पत्रकार महासंघ र सेजेनको प्रतिनिधित्व थिएन । ब्यक्तिगत सम्बन्धका आधारमा केही नेपाली पत्रकारले सम्मेलनमा भाग लिएको भेटियो, संस्थागत रुपमा सहभागिता देखिएन । बहुचर्चित भिजन–२०२० एण्ड बियोण्डको नारा दिएको र पूर्वसभामुख सुभास नेम्वाङलगायतको उपस्थितमा भएको उद्घाटन सत्रसमेत छायाँमा परेको थियो । क्षेत्रीय सम्मेलनका लागि गठित मिडिया समितिसमेत काम कर्तब्यमा समेत विमुख थियो । त्यहाँ उपस्थित पत्रकारहरुका लागि आवश्यक परिचयपत्र समेत समयमा उपलब्ध गराउन सकेको थिएन् भने सम्मेलनस्थलमा मिडिया सेन्टरको व्यवस्था थिएन । सम्मेलनमा उठेका विषय वस्तुलाई दैनिक प्रेस बिज्ञप्तिमार्फत सूचना जारी गर्न सम्मेलन असफल देखिन्थ्यो । अमेरिकास्थित नेपाली पत्रकारहरुको साझा संस्था नेपाली जोर्नालिष्ट एसोसियसज (नेजा) संघ समेत सहकार्य गरेर अगाडि बढ्न संघको नेतृत्व चुकेको थियो ।

सम्मेलन ब्यवस्थापन
14051828_1528774353814846_7056063886615292896_n नवौं क्षेत्रीय सम्मेलनका लागि गठित २२ वटा समिति कागजी मात्र देखिन्थ्यो । सम्मेलनलाई भब्य रुपमा सम्पन्न गर्ने उद्देश्यले गठित ती समिति मध्य क्षेत्रीय संयोजक सोनाम लामा, उपसंयोजक एसी शेर्पा, एनआरएन अमेरिका अध्यक्ष केशव पौडेललगायतको उल्लेख्य सक्रियता देखिन्थ्यो । बिभिन्न देशबाट आएका प्रतिनिधिलाई आवश्यक सूचना दिने आवश्यक संरचनासमेत नहुदाँ सहभागीले होटलभित्र असजिलो महसुस गरेका थिए ।

आर्थिक पारदर्शीता फितलो
1 क्षेत्रिय सम्मेलन सम्पन्न भएलगत्तै सम्मेलनको खर्च विवरण सार्वजानिक गरिएको छ । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको हिमालयन याक रेष्टुरेण्टमा आयोजित पत्रकार भेटघाटमा सम्मेलनका संयोजक एवं एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका संयोजक सोनाम लामाले आम्दानी र खर्चको फेरहिस्ता प्रस्तुत गरे । संघको १४ वर्षे अभियानमा पहिलो पटक आयोजकले आफ्नो हिसावकिताव सार्वजानिक गरेको थियो । यसलाई सकरात्मक ठानिए पनि गैरआवासीय नेपाल संघको परम्पार विपरित मानियो । क्षेत्रीय समितिको व्यवस्थापनको जिम्मा लिएको गैरआवासीय नेपाली संघ अमेरिकाले हरहिसाव गैरआवासीय नेपाली संघको केन्द्रीय समितिमा पेश गर्नुको सट्टा पत्रकार समक्ष पेश गरेको छ । आयोजकले आर्थिक अनियमितको आरोप आउन सक्ने मनोविज्ञानका कारण हतासमा आर्थिक बिवरण सर्वजानिक गरेको टिप्पणी कतिपयले गरे । सम्मेलनबाट गैरआवासीय नेपाली संघको भवनका लागि करिब २ करोड रुपैयाँ संकलन भए पनि आयोजकले विभिन्न शीर्षकमा मनपरी खर्च गर्दा ९२ हजार २ सय ७८ डलर २४ सेन्ट बचत देखाएको छ ।

सम्मेलनका लागि कुल खर्च १ लाख ५१ हजार ४ सय ५२ डलर ६ सेन्ट खर्च भएको जानकारी दिएको छ । सम्मेलनको कुल आम्दानी २ लाख ४३ हजार ७ सय ३० डलर ३० सेन्ट रहेकोमा सबै खर्च घटाउँदा ९२ हजार २ सय ७८ डलर २४ सेन्ट बचत भएको र सो रकम काठमाडौंमा एनआरएनएको भवन निर्माणका लागि पठाइने बताइयो । गैरआवासीय नेपाली संघका एक संरक्षकले प्रतिनिधिले २ सय डलर दर्ता शुल्क तिरे पनि सो अनुरुपको सुविधा नभएको गुनासो गरे । होटल, अतिथि, डिजाइन, स्टेज डेकोरेशनमा अतिरिक्त खर्च गरिएको छ । सम्मेलनमा भाग लिन आएका प्रतिनिधिहरुले आफ्नै खर्चबाट होटल बुकिङको समेत खर्च देखिएको छ । सम्मेलनको लागि प्रमुख अतिथि पूर्वसभामुख सुवाश नेम्वाङका लागि आयोजकले २१ हजार १ सय ४४ डलर ५० सेन्ट खर्च देखाएको छ ।

अतिथि र अतिथि सत्कारको दुई शीर्षकमा खर्च गरेको देखिएको छ । हिल्टन होटलमा आयोजित सम्मेलनको स्टेज डेकोरेशनमा मात्र ६ हजार ७ सय ५५ डलर खर्चिएको छ । २ सय ५ जना सम्मेलनमा सहभागीहरुले २ सय डलर तिरेर आफ्नो नाम दर्ता गरेका थिए भने करिब ४ सय जनाले खाना खाएको विवरण प्रस्तुत गरिएको थियो । त्यस्तै खर्चतर्फ लन्च, डिनर, ब्रेकफास्टमा ७१ हजार ३ सय ४५ डलर ४ सेन्ट र होटल रुमका लागि ६ हजार ६ सय ७५ डलर ८८ सेन्ट गरी ७८ हजार २० डलर ९२ सेन्ट खर्च गरिएको छ । साउण्ड, लाइट, परिजेन्टेशनमा १० हजार २ सय डलर, स्टेज डेकोरेशनमा ६ हजार ७ सय ५५ डलर, भिडियोग्राफी, प्रोजेक्टर, प्रिन्ट र डिजाइनमा ८ हजार ९ डलर, फोटोग्राफीमा ११ सय डलर गरी २६ हजार १ सय ४४ डलर खर्च गरिएको छ । नेपालबाट अतिथि ल्याउँदागरी लजिस्टिक, प्रिन्ट र सामानमा २१ हजार १ सय ४४ डलर ५० सेन्ट खर्च गरिएको छ ।

त्यस्तै स्थानीय यातायातमा ५ हजार ४ सय ९ डलर ९९ सेन्ट, कलाकारलाई पारिश्रमिकमा ५६ सय डलर, विविध खर्चमा २ हजार डलर, कार्यालय खर्चमा १९ सय ९३ डलर ९३ सेन्ट, पत्रकार भेटघाटमा १७ सय ४८ डलर १७ सेन्ट, खेलकुदमा १६ सय ६७ डलर ७४ सेन्ट, वेवसाइट अपडेटमा १५ सय डलर, प्रिन्ट खर्चमा १४ सय ७२ डलर १४ सेन्ट, विज्ञापनमा १२ सय ५० डलर, मास्टर अफ सेरेमोनीमा १२ सय ५० डलर, अतिथि सत्कारमा ७ सय डलर, स्वयसेवकका लागि ६ सय ४९ डलर ६६ सेन्ट, सोभिनियरमा ४ सय १२ डलर १ सेन्ट र सुरक्षामा ४ सय डलर गरी २६ हजार १ सय ४२ डलर ६४ सेन्ट खर्च गरिएको छ । आम्दानीतर्फ स्पोन्सरहरुका तर्फबाट २ लाख १२ हजार ५१ डलर र रजिस्ट्रेशनबाट ३१ हजार ६ सय ७९ डलर ३० सेन्ट गरी २ लाख ४३ हजार ७ सय ३० डलर ३० सेन्ट संकलन भएको देखाइयो ।

प्रमुख संरक्षक लामिछानेको अर्थपूर्ण अनुपस्थिति jiba 

गैरआवासीय नेपाली संघका संस्थापक एवंम प्रमुख संरक्षक जीवा लामिछाने नवौ क्षेत्रीय सम्मेलनमा अनुपस्थित रहे । उनको अनुपस्थितिलाई धेरैले अर्थपूर्ण मानेका छन् । सम्मेलनमा उपस्थित अधिकांशले लामिछानेको अनुपस्थितिको मुख्य कारणको पत्ता लगाउने प्रयास गरेका थिए । लामिछानेले आफु विशेष कारणले अनुपस्थित भएको जनाएका थिए । बहुप्रचारित भिजन–२०२० को खाका तयार गर्दा घलेले आइएनजीओमा कार्यरत एक व्यक्तिलाई दिएपछि लामिछाने असन्तुष्ट थिए । लामिछानेले संघको भिजन निर्माण संघभित्रकै साथीहरु मात्र आउनु पर्नेमा जोड दिएका थिए ।

आगामी नेतृत्वको होड
kumar गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रको जुलाई महिनामा सम्पन्न बैठक लगत्तै संघका पूर्वप्रवक्ता डा. हेमराज शर्माले नयाँ नेतृत्वका लागि अहिलेदेखि नै चुनावी चर्चा हुनु अस्वभाविक भन्दै फेसबुकमा स्टाटस राखे । यूरोप सम्मेलनको चार सातापछि सुरु भएको अमेरिकी नवौं क्षेत्रीय सम्मेलन अगावै गैरआवासीय नेपाली संघका पदाधिकारीहरु आफ्नो रणनीति तय गर्न अमेरिका छिरेका थिए । वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र भवन भट्ट अमेरिकास्थित गैरआवासीय नेपालीहरुसँग अन्तरकृयामा सहभागी भए । पन्त एक सातअघि टेक्सास पुगेर आफ्नो अभियान अघि बढाए । उनी लसएन्जल्स, बाल्टिमोर, डिसी, हुदैं न्युयोर्कसम्म पुगेका थिए । पन्तले अमेरिकास्थित नेपाली समूदायलाई आगमी नेतृत्वका लागि आफू दावेदार रहेको सन्देश दिँदै नेतृत्व लिन अघि सरेको परिपक्को सन्देश छोड्न सफल भए । भट्टले अगामी नेतृत्वका लागि आफ्नो स्वभाविक दावी रहने भन्दै छलफल चलाएका थिए । सम्मेलनमा उपस्थित अन्य पदाधिकारहरु महासचिव डा. बद्री केसी, सचिव अर्जुन श्रेष्ठ, प्रवक्ता रन्जु थापा, क्षेत्रीय संयोजकहरु कुल आचार्य, सोनाम लामा, महेन्द्र लम्साललगायत समेत चुनावी छलफलमा जुटेका थिए ।

सम्मेलनको सन्देश
अध्यक्ष घलेद्धारा प्रस्तुन भिजन २०२० को अवधारणले गैरआवासीय नेपाली सँघ समयअनुकुल परिवर्तन अपरिहार्य रहेको प्रष्ट सन्देश दिएको थियो । गैरआवासीय नेपाली सँघलाई नयाँ उचाइमा लैजान नयाँ मुद्धा सहित आन्तरिक संरचनामा परिवर्तन आवश्यक रहेको सन्देश त्यहाँ उपस्थित प्रतिनिधीहरु सन्देश दिन अध्यक्ष घले पूर्ण रुपमा सफल देखिए ।