१३ बैशाख २०८१, बिहीबार
Follow Us

एघार घण्टापछि नारायणगढ–मुग्लिन सडक खुल्यो

नेपालब्रिटेन संवाददाता
१२ असार २०७५, मंगलवार १५:३८

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नाम्ची खोलामा आज बिहान खसेको पहिरो पन्छाएर सवारी आवागमन खुल्ला गरिएको छ ।

बिहान ५:२० बजे पहिरो खसेपछि सडकअवरुद्ध बनेको थियो । पहिरो पन्छाएर दिउँसो ३:५० बजेदेखि दुईतर्फी सडक खुल्ला गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।

ठूलो पहिरो खसेको र शुरुमा ठेकेदार कम्पनीले यसअघि पहिरो पन्छाएको भुक्तानी नभएको भन्दै काम नगरेपछि पहिरो पन्छाउन ढिलाइ भएको हो । पहिरो पन्छाउन बिहान ८:३० बजेबाट दुई वटा एक्साभेटर र एउटा लोडर प्रयोग गरिएको थियो । मुग्लिनबाट ३.४ किलोमिटर नारायणगढतर्फ नाम्ची खोला पर्दछ ।

सो ठाउँमा गतवर्ष तत्कालीन संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा संसदीय टोलीले निरीक्षण गरेकै दिन पनि पहिरो खसेको थियो । त्यसपश्चात् पुनःआज बिहान पहिरो खसेको हो ।

दुई दिनदेखि सो सडकखण्डका ठाउँठाउँमा सानातिना पहिरो खस्दा सडक अवरुद्ध हुने र खुल्ने हुँदै आएको थियो । बिहानै पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरुले हैरानी व्यहोरेका छन् ।

गन्तव्यका लागि हिँडेका यात्रुको विचल्ली भएको पहिरोकै कारणबीच सडकमा रोकिनुभएका नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले बताउनुभयो । बिहान समयमा पहिरो नपन्छाएका कारण यात्रुले लामो समय दुःख पाएको उहाँले बताउनुभयो ।