१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पैसा कमाउन चाहेको भए जागीर छाडदिन थिएँ

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७३, बुधबार ०८:१३

राजनीतिमा जबसम्म सक्षम व्यक्तिहरू आउँदैनन्, तबसम्म राजनीतिले पनि सही दिशा लिन सक्दैन भन्ने धारणा राख्छिन्, दुर्गा लामिछाने । आधा दर्जन बढी राष्ट्रिय तथा अन्तराििष्ट्रय गैरसरकारी संस्थामा काम गरेकी लामिछाने नेपाल तरुण दलमा आबद्ध छिन् । तरुण दलको महाधिवेशन केही समयपछि नै हुँदैछ । तरुण दलको महाधिवेशन र उनको राजनीतिक यात्राबारे गरिएको कुराकानी :
० तरुण दलको महाधिवेशन स-यो नि ?
– मैले पनि सुनें, गत आइतबार यसको निर्णय भयो । छलफलको मात्र विषय बनेको थियो । केही जिल्लामा जबर्जस्त विवाद निकालिएकाले महाधिवेशन सार्नुपरेको हो । अझै २२ जिल्लामा अधिवेशन हुन सकेको छैन ।
० महाधिवेशन फेरि सार्नुपर्ने स्थिति कसरी आयो ?
– केही जिल्लाको अधिवेशन गर्न बाँकी छ । सबै जिल्ला अधिवेशन सकेर केन्द्रीय अधिवेशन गर्दा राम्रो हुन्छ भनेर अधिवेशन सार्ने कुरा आएको हुन सक्छ । अधिवेशन हुन बाँकी जिल्लाहरूले पनि समय माग गरेका छन् । तर अधिवेशन सार्ने या तोकिएकै समयमा हुने निर्णय तरुण दलले मात्र चाहेर सम्भव छैन । अधिवेशन सम्पन्न गर्न गठित निर्देशक समितिले नेताहरूसँग छलफल गरिरहेको छ ।
० कति जिल्ला अधिवेशन सम्पन्न भयो ?
– सोमबारसम्म करिब ६५ जिल्लाको अधिवेशन सम्पन्न भयो ।
० तपाईको तयारी के छ नि ?
– म केन्द्रीय सदस्यमा उठ्छु । यतिबेला देश दौडाहामा छु । पूर्वका साथीहरू भेटेर अहिले सुदूरपश्चिम पुगेकी छु । पछिल्लो दुई महिना म विभिन्न जिल्लाहरूमा पुगेर तरुण साथीहरूसँग भेटघाट गरिरहेकी छु । सबैको सल्लाहअनुसार नै केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ ।
० कस्तो रह्यो जिल्ला भ्रमण ?
– जिल्ला भ्रमण गर्दा राजनीतिक भेटघाट त हुन्छ नै, साथै यसले त्यहाँको संस्कृति र सामाजिक अवस्था बुझ्न निकै सहयोग गर्दाे रहेछ । त्यहाँको विकासको अवस्था र समाज बुझ्ने मौका पाए । मेरो अध्ययनको विषय पनि यो हो ।
० कति जिल्ला घुम्नुभयो ?
– करिव ७० जिल्ला घुमिसकें ।
० कहिलेदेखि तरुण दलमा आबद्ध हुनुभयो ?
– २०६२ देखि तरुण दलमा सक्रिय छु । पार्टीको सक्रिय सदस्य २०६० सालमै पाएकी हुँ ।
० राजनीतिबाहेक अरु केही गर्नुहुन्छ कि ?
– म कलेज पढाउँछु अनि रिसर्चको काम पनि गर्छु । विगतमा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघ–संस्थामा रहेर काम गरेको अनुभव पनि छ । म अधिवक्ता पनि हुँ ।
० कुन कुन संस्थामा काम गर्नुभयो ?
– आधा दर्जनभन्दा बढी सामाजिक संस्थामा काम गरें । जस्तै, नेपाल रेडक्रस सोसाइटी, नर्वेजियन रेडक्रस सोसाइटी, इन्सेकलगायत संस्थाहरूमा काम गरेकी छु । कामकै सिलसिलामा १५ देश भ्रमण गरेकी छु ।
० किन राजनीतिमा आउनुभयो ?
– राजनीति मात्र एउटा त्यस्तो अस्त्र हो, जसले समाजलाई कता लैजाने भन्ने कुराको निर्धारण गर्छ । त्यसकारण राजनीतिमा क्षमतावान, योग्य व्यक्ति आउनुपर्छ भन्ने मेरो मान्यता हो । यसकारण मैले राजनीतिलाई रोजेकी हुँ ।
० राजनीति गर्न सजिलो कि संघ–संस्थाहरूमा काम गर्न ?
– दुवै सजिलो छैन । तपाईको क्षमता र योग्यताले धेरै कुराको निर्धारण गर्छ ।
० परिवारको सहयोग छ त ?
– परिवारको सहयोगबिना त कसरी सम्भव हुन्छ र महिलाहरूलाई राजनीति गर्न † मेरो श्रीमान्को पूरापूर सहयोगका कारण मात्र मैले राजनीतिमा सक्रिय हुने अवसर पाएकी हुँ । उहाँको सल्लाहअनुसार नै म अगाडि बढिरहेकी छु । बुबा मम्मीको पनि सहयोग छ मलाई ।
० श्रीमान के गर्नुहुन्छ ?
– उहाँ सिए हो । एउटा बैंकमा काम गर्नुहुन्छ ।
० तपाईको थातथलो कता हो नि ?
– मेरो माइती कास्की हो । श्रीमान्को घर कैलाली हो । अहिले काठमाडौंमै बसाई छ ।
० अब राजनीतिमै सक्रिय हुने ?
– पैसा नै कमाउन चाहेको भए धेरै राम्रा अन्तर्राष्ट्रिय संघ–संस्थाको जागिर छोड्ने नै थिइनँ । अब सक्रिय ढंगले राजनीतिमा रहन्छु । मैले डेभलपमेन्ट स्टडिजमा एमफिल गरेकी छु । केही समयपछि पिएचडी गर्ने सोचाइ छ ।