१५ चैत्र २०८०, बिहीबार
Follow Us

मेरील्याण्ड राज्यसभा निर्वाचनमा नेपाली मुलका भण्डारी विजयी

नेपालब्रिटेन डट कम्
१३ असार २०७५, बुधबार ०५:०९

होमप्रसाद लम्साल ।

अमेरिका – अमेरिकी मुलधारको राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै नेपाली मुलका ह्यारी भण्डारीआज सम्पन्न मेरिल्याण्ड जिल्ला ८ बाट राज्यसभाको लागि भएको प्राथमिक निर्वाचनमा विजयी भएका छन् । उनी माथिल्लो तहको निर्वाचनमा विजयी हुने पहिलो नेपाली हुन्।

भण्डारी आज सम्पन्न निर्वाचनमा मेरिल्याण्ड राज्यको जिल्ला ८ का लागि स्टेट डेलिगेटमा डेमोक्र्याट पार्टीका तर्फबाट प्राथमिक चुनावमा विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी अमेरिकन नागरिकलार्इ पछि पार्दै भण्डारी विजयी भएका हुन् ।

भण्डारी आगामी नोभेम्बरमा हुने निर्वाचनमा उम्मेद्धवार हुन पाउने छन् । डेमोक्र्याटहरुको बाहुल्यता भएको यस क्षेत्रबाट आगामी नोभेम्बरमा पनि आफु जित्नेमा भण्डारी ढुक्क छन् । विजयीभएपछि उनले भने यो मेरो मात्र विजय नभएकर समग्र नेपाली समुदायको विजय हो ।आगामी निर्वाचनमा सबैको सहयोग भए अमेरिकामा पहिलो निर्वाचित राज्यसभा सदस्यका रुपमा नेपालीको नाम लेखिनेछ ।

निर्वाचन आयोगले भण्डारी निर्वाचित भएको जनाएपछि यतिखेर मेरिल्याण्डस्थित नेपाली रेष्टुरेन्टमा खुसीयाली छाएको छ। मेरिल्यान्ड डिष्ट्रिकमा एक लाख ३५ हजार मतदातामा ४२ हजार डेमोक्र्याट रजिष्टर मतदाता रहेका छन् । त्यहाँ एसियन मतादाताको संख्या ६ प्रतिशत रहेको निर्वाचित भण्डारीले बताए । ८० प्रतिशत ह्वाईट अमेरिकनका बीच चुनावी प्रतिष्पर्धामा होमिएका भण्डारी मेरिल्याण्डका चर्चित सिनेटर क्याथी कलौजमैरको टिममा परेका छन् । क्याथीले प्राईमरी निर्वाचन जिते लगत्तै नोभेम्बरमा हुने निर्वाचनका लागि जट्न आव्हान गर्दै यस सफलताको श्रेय मतदातालाई दिईन् ।

क्याथीको टिमका सबै उम्मेदवार निर्वाचित भएका छन । क्याथी डेमोक्र्याट पार्टीको संस्थागत प्यानलका प्रभावशाली नेता मानिन्छन् । भण्डारीसहित एरिक ब्रोमवेल, कार्ल ज्याक्सन र जो वेर्नर निर्वाचित भएका हुन् ।

डेमोक्र्याट पार्टीको विभिन्न तहमा बसेर काम गरेका भण्डारी मेरिल्याण्डमा शिक्षक प्रतिनिधिका रुपमा पनि संलग्न छन् । उनी युथ डेमोक्र्याटको नेसनल सेक्रेटरी, अमेरिकन शिक्षक युनियनको भर्खरै मात्र निर्वाचित मेरिल्याण्डका प्रतिनिधि र डेमोक्र्याट पार्टीभित्र अल्पसंख्यक कससका बोर्ड डाईरेक्टर हुन् ।

उनले हिलारी क्लिन्टनको निर्वाचनमा नेपाली फर हिलारी भनेर अभियान चलाएका थिए । अमेरिकी डेमोक्र्याट पार्टीमा उपल्लो स्तरमा सम्बन्ध स्थापित गरेका ह्यारीले अमेरिकामा पहिलो पल्ट डेमोक्र्याट पार्टीको युवा संस्था युथ डेमोक्र्याटमा एसियन अमेरिकन ककस बनाउन निकै ठूलो भूमिका खेलेका थिए ।

भण्डारीले चुनावी अभियानका क्रममा १८ हजार घरमा पुगेर प्रत्यक्ष रुपमा जनताबीच मत मागेका थिए । घर दैलोमा पुग्न नसकिएको घरहरुमा हुलाकबाट चुनावी एजेण्डाहरु पठाएर, व्यस्त चोकहरुमा ह्यारीको व्यानर लिएर प्रचार प्रचार गरिएको थियो ।