१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रदेश सभा बैठक सञ्चालन

sarusaru
१४ असार २०७५, बिहीबार ०२:५९

धनगढी – बजेट ल्याउँदा भएका कमीकमजोरी सच्याउँदै प्रतिपक्षीको भावनालाई समेत बजेटमा समेट्ने प्रदेश सरकारको प्रतिबद्धतापछि अवरुद्ध हुँदै आएको प्रदेश नं ७ को प्रदेशसभा बैठक सञ्चालन भएको छ ।

आज बसेको प्रदेशसभा बैठकको विषेश समयमा प्रदेश सरकारको तर्फबाट सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले समय अभावले बजेटको व्यवस्थापनमा केही समस्या देखिएको स्वीकार गर्दै प्रतिपक्षीका केही माग सम्बोधन गर्ने विषयमा समझदारी भएको जानकारी दिनुभयो ।

बजेटप्रति असन्तुष्टि राख्दै बैठक अवरुद्ध गरिएको विषयमा सरकार गम्भीर बनेको उल्लेख गर्दै मन्त्री सोडारीले बजेट अपारदर्शी हुने र जवाफदेही हुदैन की भन्ने प्रतिपक्षको चिन्ता हटाउने बताउनुभयो ।

विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका भरतबहादुर खड्काले विधि, प्रक्रिया र पद्धतिबमोजिम बजेट विनियोजन नगरिएकाले आफूहरुले बैठक अवरुद्ध गर्नु परेको बताउनुभयो । विधि र प्रक्रियाका आधारमा बजेट विनियोजन गर्ने, खर्चका लागि कार्यविधि बनाएर जाने, सबै सदस्यको भावनाको कदर हुने गरी काम गर्ने समझदारी सरकारसँग भएपछि अवरुद्ध बैठक सुचारु गर्न प्रतिपक्ष सहमत भएको उहाँको भनाइ थियो ।

खड्काले बजेट निर्माणदेखि कार्यान्वयनसम्म ‘आफँै धाँमी, आफँै झाँक्री’को व्यवहार नदेखाउन र प्रजातान्त्रिक संस्कारलाई अंगीकार गर्दै सिंगो संसदलाई विश्वासमा लिएर काम गर्न सरकारलाई सल्लाह दिनुभयो ।

असार १ गते आगामी आवको बजेट प्रस्तुत गरिएपछि शुरु भएको बजेट माथिको छलफलका क्रममा प्रतिपक्षीले विरोध गरेसँगै आइतबारदेखि बैठक अवरुद्ध हुँदै आएको थियो ।

बैठकमा सभामुख अर्जुनबहादुर थापाले छलफलका लागि आज तोकिएको दैनिक कार्यसूची हटाइएको र बजेट माथिको छलफल बिहीबारदेखि शुरु हुने जानकारी गराउनुभएको थियो । प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान ८ बजे बस्नेछ ।
रासस