१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सरकारको लापारबाहीको कारण जनता दिक्क

sarusaru
१४ असार २०७५, बिहीबार ०४:०४

सरु पौडेल , काठमाण्डौ – सिंहदरबारको दक्षिण गेटसाइडमा नाङ्गो तारलाई रबरप्लान्टको रुखले छोएको वर्षैँ बितिसकेको छ । स्थानीयबासीले पटकपटक विद्युत प्राधिकरण , महानगरपालिका तथा अन्य सरोकारवाला निकायलाई समेत जानकारी गराए तर कुनै पनि सरोकारवाला निकायले त्यसको वास्ता गरेनन् । यतिसम्म कि सिंहदरबार भनेको सिङ्गो देशकै प्रशासनिक निकाय हो, जुनसुकै मन्त्रीदेखि कर्मचारीहरु त्यही बाटो भएर गाडिमा सरर कुद्छन् अथवा पैदल हिँड्छन् तर त्यसतिर न कुनै मन्त्रीको ध्यान गयो ,न कर्मचारीको , न विद्युत प्राधिकरणको नै । पानी परेको बेलामा वा चर्को घाम लागेको बेला मानिसहरु त्यही रुखको ओत लाग्छन् , दैनिक रुपमा हजारौँ मानिसहरु पैदल हिँड्ने यो बाटोमा नै त्यो रुख छ । यदि त्यो रुख छोयो भने करेन्ट लाग्छ तर जनता मरेपनि सरोकारवाला निकायलाई मतलव नभएपछि स्थानीय जनताले आफै त्यो रुखमा सूचना लेखेर टाँस्न बाध्य भए ।
त्यही अगाडि व्यवसाय गरेर बस्ने दीपक शर्माले भने – ‘यो रुखले नाङ्गो तारलाई छोएको वर्षाैँ भइसक्यो ,हामीले विद्युत प्राधिकरणलाई भन्यौ ,वास्ता गरेन ,महानगरपालिकालाई भन्दा पनि वास्ता गरेन , अन्य सरोकारवाला निकायलाई पनि भन्यौ खै कसैको ध्यान जाँदैन । यस्तो संवेदनशील कुरामा पनि सरकारले वास्ता गर्दैन । हामी भन्दा भन्दा दिक्क भइसक्यौँ । त्यसैले सकेसम्म कसैको ज्यान नजाओस् भनेर मैले आफै सूचना टाँसेको हुँ । ’
सरकारले यस्तो संवेदनशील कुरामा पनि लापारबाही गरिरहेको छ ,के यसलाई जनताको भलो भएको भन्ने ? बाग्लुङमा गएकै महिनामा दूईजना युवतीहरु करेन्ट लागेर मरे । पोखरामा मोटरसाइकलमा सवार गर्दागर्दै करेन्ट लागेर मरे । देशकै केन्द्रबिन्दु सिंहदरबारको अगाडि त यस्तो हालत छ दुरदराजका गाउँका मानिसहरुले सरकारबाट के आश गर्ने !